अमेरिकी राष्ट्रपतिमा क्लिन्टनद्वारा दावी प्रस्तुत

  • 13 एप्रिल 2015
तस्वीर कपीराइट AFP
Image caption उम्मेद्वारी दिने हिलरी क्लिन्टनको घोषणा अनपेक्षित नभएको धेरैको भनाई छ

पहिलो अमेरिकी महिला राष्ट्रपति बन्ने प्रयासस्वरुप पूर्वविदेशमन्त्री हिलरी क्लिन्टनले सन् २०१६ को राष्ट्रपतीय चुनावी दौडमा आईतबार प्रवेश गरेकी छन्।

चुनावी अभियानका निम्ति एउटा वेबसाइटको शुरुवात गर्दै उनले आफू अमेरिकीहरुको ‘च्याम्पियन’ बन्न चाहेको बताइन्।

राष्ट्रपति पदका लागि क्लिन्टनले सन् २००८ मा मनोनयन दर्ता गराएपनि बराक ओबामाले उनलाई जितेका थिए।

आफ्नो वेबसाइटमा राखिएको एउटा भिडिओमा उनले घोषणा गरेकी छन्, “म राष्ट्रपति पदका लागि लड्दैछु, प्रत्येक दिन अमेरिकीहरुलाई एकजना च्याम्पियन चाहिएको छ र म त्यो च्याम्पियन बन्न चाहन्छु।”

यात्रा

उक्त भिडीयोमा कयौं अमेरिकीहरुले आफ्ना आशा र आकांक्षाबारे कुरा गरेका छन्।

'तपाईंहरुको मतका लागि म यात्रा शुरु गर्दैछु किनभने यो तपाईंहरुको समय हो र मलाई आशा छ तपाईंहरुले मेरो यात्रामा मलाई साथ दिनुहुनेछ,' भन्दै उक्त भिडीयो टुंगिन्छ।

क्लिन्टनको टोलीले जनस्तरमा समर्थन जुटाउने प्रयासस्वरुप आगामी केही साता त्यसका निम्ति खर्चिने जनाएको छ।

तस्वीर कपीराइट Reuters
Image caption मे महिनाको मध्यतिर हिलरीले औपचाकरिक चुनावी अभियान थाल्ने बताइएको छ

त्यसक्रममा उनले आफू लोवा जान लागेको सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्।

औपचारिक

मे महिनाको मध्यतिर क्लिन्टनले आफ्नो पहिलो र्यालीमार्फत चुनावी अभियानको औपचारिक थालनी गर्ने ठानिएको छ।

वर्तमान राष्ट्रपति बराक ओबामाको उनले पहिल्यैदेखि समर्थन प्राप्त गरिसकेकी छन्।

अमेरिकी मुलुकहरुको सम्मेलनका क्रममा शनिबार पनामामा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै ओबामाले क्लिन्टन ‘उत्कृष्ट राष्ट्रपति’ हुने बताए।

र, क्लिन्टनका उत्तराधिकारी जन केरीले उनलाई एक असल साथीको संज्ञा दिएका छन्।