हत्याका दोषी ब्ल्याकवाटरका गार्डलाई जेल सजाय

  • 14 एप्रिल 2015
तस्वीर कपीराइट getty images
Image caption ब्ल्याकवाटरका गार्डहरुले इराकमा अमेरिकी अधिकारीहरुलाई सुरक्षा दिने गरेका थिए

अमेरिकाको वासिङ्गटनस्थित एउटा अदालतले सन् २००७ मा १४ जना इराकी नागरिकहरुको हत्या गरेको अभियोगमा अमेरिकी निजी सैनिक कम्पनी ब्ल्याकवाटरका एकजना पूर्वगार्डलाई आजीवन कारावासको सजाय सुनाएको छ।

अन्य तीनजनाले ३०-३० वर्षको जेल सजाय पाएका छन्।

निसूर स्क्वायरमा भिडभाडमा गोली चलाई हत्या गरेकोमा गतवर्ष निकोलस स्लाट्टेन र अन्य तीनजना दोषी ठहरिएका थिए।

सजायबारे दिनभर चलेको बहसका क्रममा आरोपित सुरक्षा गार्डहरुले विद्रोहीहरुले गोली प्रहार गरेपछि प्रत्याक्रमण गरेको दाबी गर्दै आफूहरु निर्दोष रहेको पुनः पुष्टि गर्न खोजेका थिए।

सफलतापूर्वक

तर अभियोजनकर्ताहरुले नागरिकहरुलाई जथाभावी गोली हानिएको तर्क सफलतापूर्वक पेश गरे।

जबकि क्षमादान पाउनुपर्ने प्रतिवादीका वकिलको तर्क विफल भयो।

स्लाट्टेनमाथि हत्याको आरोप लगाइएको थियो भने अन्य गार्डहरुमाथि कयौंको हत्या, हत्याको प्रयास र अपराधका क्रममा बन्दुक प्रयोग गरेको आरोपहरु लगाइएका थिए।

Image caption पीडित परिवारका सदस्य र प्रत्यक्षदर्शीहरु सुनुवाईका लागि अमेरिका पुगेका थिए

पूर्वगार्डले आफूहरुले गरेको अपराधप्रति कहिल्यै पश्चताप नगरेको भन्दै उनीहरुलाई अझ कडा सजाय दिइनुपर्ने अभियोजनकर्ताहरुको माग दाबी भने न्यायाधीशले अस्वीकार गरिदिए।

सुनुवाई

सुनुवाईका लागि कयौं पीडित तथा घटनाका प्रत्यक्षदर्शीहरु इराकबाट अमेरिका पुगेका थिए।

अमेरिकी सुरक्षाकर्मीहरुका लागि बाटो खुलाउने क्रममा ब्ल्याकवाटरका ती गार्डहरुले गोली चलाउँदा अन्य १७ जना इराकीहरु घाईते भएका थिए।

उक्त गोलीकाण्डको अन्तर्राष्ट्रिय रुपमा विरोध भएको थियो र युद्धका बेला भाडामा लिइने निजी कम्पनीका गार्डहरुको भूमिकामाथि बहस छेडिएको थियो।