युक्रेनमा पुन: लडाइँ चर्कियो

  • 14 एप्रिल 2015
तस्वीर कपीराइट Getty
Image caption फ्रान्स, जर्मनी, रुस र युक्रेनका विदेशमन्त्रीहरुले लडाइँ चर्किएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पूर्वी युक्रेनमा धर्मराउंदो युद्धविरामलाई जोगाउन पुन: कुटनीतिक प्रयास गरिएको एकदिन पछि नै लडाईं चर्किएको छ।

त्यसक्रममा कम्तीमा ६ जना सरकारी सैनिक मारिनुका साथै अन्य १२ जना घाइते भएका अधिकारीहरुले बताएका छन्।  

युक्रेनका अधिकारीहरुले सोमबार राती आफूहरुमाथि २६ पटकसम्म हमला भएको बताए।

रुस समर्थक विद्रोहीहरुले भने आफ्नो तर्फ सरकारी सेनाले बारम्बार ट्यांकबाट गोलाबारी गरेको आरोप लगाएका छन्।

हिंसा

लडाईं त्यस क्षेत्रको सबैभन्दा ठूलो शहर डोनेत्सक र दक्षिणको एउटा रणनीतिक बन्दरगाहका रुपमा रहेको मारिउपुल वरपर भइरहेको छ।

गत फेब्रुअरीमा युद्धविराम सम्झौतामा हस्ताक्षर भए यता चर्किएको यो सबैभन्दा नराम्रो हिंसात्मक घटना हो।

त्यस्तो सम्झौतापछि लडाईं पूर्णत: नरोकीएपनि भिडन्तका घटनाहरु निकै कम भएका थिए।

अब थुप्रैले युद्धविराम भंग हुन लागेको भनि चिन्ता व्यक्त गरेका छन्।

सहमति

उनीहरुले १०० मिलिमिटर क्यालिबर भन्दा कमको अस्त्र, ट्यांक र मोर्टारहरुलाई युद्धको अग्रमोर्चाबाट हटाउन पनि आह्वान गरेका छन्।

तिनीहरुले सोमबार मात्र बर्लीनमा त्यसरी फिर्ता ल्याइने अस्त्रहरुको सूचीलाई विस्तार गर्न सहमति जनाएका थिए।

दुवै पक्षले ठूला अस्त्रशस्त्र हटाउन पनि थालेका छन्।

तर युरोपमा सुरक्षा तथा आपसी सहयोग संगठन नामक संस्थाका पर्यवेक्षकहरुले अझै त्यस्ता ठूला अस्त्रहरु त्यहां कायमै रहेको बताएका छन्।