प्रधानमन्त्री निवास अगाडि वृद्धवृद्धा अनशनमा

  • 15 एप्रिल 2015
Image caption प्रधानमन्त्रीको कार्यालयले अनशनकारीहरुको माग पूरा गराउन पहल गर्ने जनाएको छ

२००७ सालपछि भएका राज्यविरुद्धका सबै विद्रोहका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सहिद घोषणा र घाईतेहरुको उपचारको माग राख्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि केही वृद्धवृद्धाहरु तीन दिनदेखि अनशनरत छन्।

प्रधानमन्त्री कार्यालयले उनीहरुको मागप्रति ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायलाई कार्यान्वयन गराउन पहल गर्ने बताएको छ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै सडकपेटीमा खुल्ला आकासमुनि विगत तीन दिनदेखि पाँचजना वृद्धवृद्धाहरु अनशन बसिरहेका छन्।

सहिद परिवारसँग पटक-पटक भएका सहमतिहरु र सहिदसम्बन्धी बनेका विभिन्न कार्यदलका प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने, २००७ सालयताका विद्रोहका सहिद, मृतक र घाईतेको उचित सम्मान गरिनुपर्ने र सहिदको मापदण्ड तयार गरिनुपर्ने उनीहरुको चार बुँदे माग छ।

घोषणा

अनशनमा आफूलाई एक सय वर्ष उमेर पुगेको बताउने लक्ष्मीमाया मोक्तान पनि छिन्।

२०१८ सालमा पञ्चायती सरकारले आफ्नो श्रीमानको हत्या गरेपनि सहिद घोषणा नगरिएकोले सो घोषणाको माग राख्दै आफू अनशन बसेको उनले बताइन्।

उनले भनिन्, “मेरा पतिलाई कस कसले मारे, हामीले देख्नै पाएनौँ।”

आफूलाई ९४ वर्षको बताउने कुलबहादुर खत्रीले पञ्चायतकालमा आफूले पाएको यातनाका कारण शरीर अस्वस्थ भएको र उपचार गर्दै सम्पत्ति सकिन लागेकोले राज्यले हेर्नुपर्ने बताए।

कार्यान्वयन

उनले भने, “मर्नेहरु त मरेर गए, सहिद भए, समस्या त म बाँचेकोलाई पो भएको छ, मेरा परिवारले दुःख पाए, सम्पत्ति उपचार गरेरै सकियो।”

अनशन बस्नेमा पाका उमेरका सूर्यबहादुर सार्की, भक्तबहादुर रजाली र यामबहादुर टमाटा पनि छन्।

उनीहरुको मागबारे प्रधानमन्त्री कार्यालयका सचिव शान्ताराज सुवेदीले कार्यान्वयनका लागि पहल गर्ने प्रतिक्रिया दिए।

तर सहिद घोषणाको मापदण्ड तयार गर्न पटक-पटक कार्यदल र आयोगहरु बनेर प्रतिवेदनहरु तयार गरिएपनि कार्यान्वयनमा नल्याईंदा उनीहरुको माग पूरा गर्नमा अन्योल श्रृजना हुने कतिपयको बुझाई छ।