गुगलले प्रतिस्पर्धा विरोधी काम ग-यो: इयु

  • 15 एप्रिल 2015
google तस्वीर कपीराइट AFP
Image caption गुगलमा खोजी गर्दा गुगलले आफ्नै किनमेल सेवालाई सबैभन्दा प्रमुख स्थान दिएको अभियोग लागेको छ

युरोपेली संघ, ईयूले, इन्टरनेट कम्पनी गुगललाई इन्टरनेटमा सूचना खोज्ने सुविधाको बजारमा उसको प्रभावशाली अवस्थाको दुरुपयोग गरेको भनी औपचारिक अभियोग लगाएको छ।

इयुकी प्रतिस्पर्धा आयुक्तले उक्त विशाल इन्टरनेट कम्पनीले वस्तु तथा सेवाहरु दांजेर किनमेल गर्न सकिने आफैले संचालन गरेको सेवालाई त्यस्तै सेवा प्रदान गर्ने अन्य कम्पनीहरुको दांजोमा निष्पक्ष व्यवहार नगरेकोप्रति आफू चिन्तित भएको बताएकी छिन्।

उक्त अभियोगप्रति प्रतिक्रिया जनाउन गुगलसंग दश हप्ताको समय छ।

दुरुपयोग

त्यस्तो औपचारिक अभियोगको अर्थ गुगलले यदि आफ्नै सबै प्रतिस्पर्धीहरुलाई बराबरीको व्यवहार गर्ने गरेको भनी इयुका अधिकारीहरुलाई सन्तोषजनक जवाफ दिन नसकेमा उक्त कम्पनीले सम्भवत: अर्बौं डलर जरिवाना तिर्नु पर्ने हुन सक्छ।

गुगललाई त्यसरी औपचारिक अभियोग अघि बढाउने क्रममा इयुले आफूले युरोपका पचास करोड जनताको हितको रक्षा गर्न त्यस्तो कदम चालेको बताएको छ।

गुगलको सर्च इन्जीनले यूरोपबाट इन्टरनेटमा गरिने सबै सूचना, जानकारी लगायतका सेवाहरुको खोजी मध्ये नब्बे प्रतिशत ओगट्ने गर्छ।

इयुकी प्रतिस्पर्धा आयुक्त मार्गरेट भेस्टागेरले गुगलले वर्षौं देखि बजारमा आफ्नो त्यस्तो प्रभावशाली उपस्थितिको दुरुपयोग गर्दै आएको बताइन्।

इन्टरनेट प्रयोगकर्ताहरुले अनलाइन किनमेल गर्दा गुगलले आफ्नै किनमेल सेवालाई सूचीको सबैभन्दामाथि प्रमुख स्थान दिएर प्रस्तुत गर्ने गरेको छ।

कारबाही

आयुक्त भेस्टागेरले भनिन्, "इन्टरनेट खोजी सेवा प्रयोगकर्ताहरुले सबभन्दा माथि आफूले खोजेको किनमेलका विकल्पहरु मध्ये सबैभन्दा उत्तम नतिजाहरु पाउनु पर्छ, गुगलको मात्रै होइन।"

इयुले गुगललाई आफ्नो वेबपेजहरुको डिजाइन वा सर्च फर्मूला परिवर्तन गर्न जोड दिएको छैन, तर गुगलले आफ्ना प्रतिस्पर्धीहरुलाई पनि निष्पक्ष व्यवहार गर्नुका साथै नौलो सेवा अथवा प्रतिद्वन्दीलाई पाखा लगाउने काम गर्न नहुने बताएको छ।

गुगलले हवाई टिकट, होटेल बुकिंग र नक्शा बाटो देखाउने सुविधाहरु सम्बन्धी खोजी नतिजाहरु प्रस्तुत गर्दा पनि आफ्नो शक्तिको दुरुपयोग गरेको छ कि छैन भन्ने बारे इयुले छानबिन गर्दैछ।

साथै युरोपमा धेरै जस्तो मोबाइल फोनहरुमा प्रयोग हुने गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टमका सम्बन्धमा पनि इयुले छानबिन आरम्भ गरेको छ।

अब गुगलले आफूले प्रतिद्वन्द्वीहरुलाई नोक्सान पु-याउने काम नगरेको भनेर आफ्नो सफाइ प्रस्तुत गर्न दश हप्ताको समय छ।

अन्यथा उक्त इन्टरनेट कम्पनीले ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन सक्छ।