पूर्व प्रधानमन्त्री थापाको निधन

  • 16 एप्रिल 2015
थापा
Image caption थापा पाँच पटक प्रधानमन्त्री भएका थिए

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको उनको पार्टीका एकजना पदाधिकारीले बीबीसीलाई बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको सो पार्टीका सहायक प्रवक्ता किरण गिरीले बताए।

बुधबार अबेर बीबीसी नेपाली सेवासँग कुरा गर्दै गिरीले बुधबार राति ११ बजेतिर थापाको निधन भएको उनको पारिवारिक सूत्रबाट खबर प्राप्त भएको जानकारी दिए।

चैत्र ५ गते आफ्नो ८८ औं जन्मदिन मनाएका थापालाई चैत्र १६ गते स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि दिल्ली लगिएको थियो।

उपचार

केही दिन पहिले आन्द्राको सफल शल्यक्रिया गरिएका थापाको बुधबार साँझ स्वासप्रश्वास समस्या बढेको थियो।

उनका छोरा तथा वाणिज्यमन्त्री सुनिलबहादुर थापा पनि आफ्ना पिताको साथमै थिए।

स्वर्गीय थापाको शव बिहीबार नेपाल ल्याइने सम्भावना रहेको बताइएको छ।

"मैले दिल्लीमा रहेका उनका छोरा तथा आपूर्ति एवं वाणिज्य मन्त्री सुनिलबहादुर थापासँग कुरा गरेको थिएँ, अस्पतालको पनि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनको पार्थिव शरीर बिहिबार अपरान्ह वा शुक्रबार बिहान ल्याउन सकिन्छ," गिरीले भने।

थापाको अन्त्येष्टिबारे आफ्नो पार्टीको बिहीबार बिहान बस्ने केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले निर्णय गर्ने पनि गिरीले बताए।

राजनीतिक जीवन

"उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ, यसबारे बैठकले शोक प्रस्ताव पारित गर्नेछ," गिरीले भने।

धनकुटाको मुगामा जन्मिएका थापा गएको झण्डै ६ दशकदेखि नेपाली राजनीतिमा सक्रिय थिए।

उनी पाँच पटक देशको प्रधानमन्त्री भएका थिए ।

दोश्रो संविधानसभाका पनि सदस्य रहेका थापा सबैभन्दा ज्येष्ठ सदस्य पनि थिए।

२०३७ सालमा जनमत संग्रहताका प्रधानमन्त्री रहेका थापालाई पञ्चायती व्यवस्था जिताउन साम, दाम, दण्ड, भेद प्रयोग गरेको आरोप लाग्ने गरेको थियो।

सम्बन्ध

तर बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि बहुदलवादी दलहरुकै सहयोगमा उनी प्रधानमन्त्री बनेका थिए।

कतिपयले उनलाई दक्षिणी छिमेकी भारतसँग नजिक सम्बन्ध रहेको नेपाली राजनीतिज्ञको रुपमा पनि चित्रित गर्दथे।

तर थापाले भारत तथा चीन दुवै छिमेकीसँग नेपालले निकट सम्बन्ध राख्‍नुपर्ने बताउँदै आएका थिए।

पञ्चायतकालमा भूमिगत गिरोहको विरोध गरेर चर्चामा आएका थापा प्रजातन्त्रको पुनर्स्थापनापछि पनि आफ्नो खरो विचारका लागि चिनिन्थे।