राहुल गान्धी पुन: सार्वजनिक जीवनमा

  • 16 एप्रिल 2015
तस्वीर कपीराइट AP
Image caption राजनीतिक जीवनबाट अल्पविराम लिएर राहुल कता गएका थिए भन्ने स्पष्ट भएको छैन।

भारतमा विपक्षी कंग्रेस पार्टीका एकजना नेता राहुल गान्धी झण्डै दुई महिना लामो अवकाशपछि पुन: सार्वजनिक जीवनमा फर्केका छन्।

उनले आइतबार किसानहरुको एउटा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सक्रिय राजनीतिमा राहुल गान्धीको अनुपस्थितिबारे सामाजिक संजालका वेबसाइटहरुमा निकै ठूलो चर्चा भएको थियो।

राहुल गान्धी नयां दिल्लीस्थित आफ्नो निवासमा फर्कंदै पत्रकारहरुको भिडले उनलाई पछ्याएको थियो।

सम्बोधन

घरमा उनलाई उनकी आमा र पार्टी प्रमुख सोनिया गान्धी र दिदी प्रियंकाले स्वागत गरेका बताइएको छ।

सरकारले ल्याएको विवादास्पद जग्गा अधिग्रहण विधेयकका विरुद्ध प्रदर्शन गर्ने किसानहरुको एउटा -यालीलाई आइतबार उनले सम्बोधन गर्दैछन्।

राहुल गान्धी सार्वजनिक जीवनमा नदेखिंदा उनी कता किन गएका हुन् भन्ने बारे विभिन्न अडकालबाजीहरु भएका थिए।

जसका कारण कंग्रेस पार्टीलाई नेतृत्व दिन सक्ने उनको योग्यताका बारे विभिन्न प्रश्नहरु उठाइनुका साथै हांसो ठट्टा समेत भएको छ।

प्रभाव

४४ बर्षीय राहुल गान्धी नेहरु-गान्धी राजनीतिक परिवारका उत्तराधिकारी हुन् जुन परिवारले दशकौं देखि भारतीय राजनीतिमा आफ्नो प्रभाव कायम राखेको छ।

आफ्नी आमा सोनिया गान्धीले पार्टी अध्यक्षको पद त्यागेपछि त्यो जिम्मेवारी राहुल गान्धीले सम्हाल्न सक्ने अनुमान गरिंदै आएको छ।

कंग्रेस पार्टीका केही नेताहरुले खुलेआम नै त्यस्तो आह्वान गर्दै आएका छन्।

तर केहीले भने उनी पार्टी कार्यकर्ताहरुबाट टाढा रहने गरेकाले उनकी दिदीले बरु राजनीतिमा सकृय भूमिका खेल्नु पर्ने बताउने गरेका छन्।

तर प्रियंकाले पार्टीमा संलग्न हुने कुनै संकेत दिएकी छैनन्।

गत बर्ष भएको आम निर्वाचनपछि सत्ताच्यूत भएको कंग्रेस पार्टीले त्यसपछिका विभिन्न निर्वाचनहरुमा पनि पराजय बेहोर्दै आएको छ।