आप्रवासीमाथि हमला अस्वीकार्य: राष्ट्रपति जुमा

  • 16 एप्रिल 2015
तस्वीर कपीराइट
Image caption राष्ट्रपति जुमाले देशमा विदेशीहरुमाथि भएको आक्रमण अस्वीकार्य भएको बताएका छन्

दक्षिण अफ्रिकाका राष्ट्रपति जेकब जुमाले देशमा हालै विदेशीहरुमाथि भएका हिंसात्मक आक्रमणहरुलाई स्तब्धकारी तथा अस्वीकार्य भन्दै तिनको निन्दा गरेका छन्।

हालैका हप्ताहरुमा त्यहां विदेशी आप्रवासीहरुमाथि भएका हमलाका कम्तीमा पाँच जनाको ज्यान गएको थियो।  

देशको संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जुमाले भने, "विदेशी आप्रवासीहरुमाथि भएको हमलाबाट जीवनप्रतिको सम्मान, मानवीय गौरव र मानव अधिकार सबैको उल्लंघन भएको छ।"

त्यस्तो हिंसा फैलाउनमा जिम्मेवार भनेर आलोचकहरुले उनीमाथि लगाएका आरोप पनि उनले खण्डन गरेका छन्।

जोड

बेराजगारी दर २४ प्रतिशत रहेको दक्षिण अफ्रिकाका थुप्रै बेरोजगारहरु विदेशीहरुले आफूहरुको रोजगारी हत्याएको भन्ने गर्छन्।

संसदमा बोल्दै राष्ट्रपति जुमाले विदेशीहरुमाथि हमला गर्ने र उनीहरुको पसल व्यवसाय लुट्ने कार्यलाई कुनै पनि निराशा या आक्रोशको बहानाले सही सावित गर्न नसकिनेमा पनि जोड दिए।

हालैका हप्ताहरुमा भएका त्यस्तो हिंसाको विरोधमा पूर्वी शहर डर्बनमा हजारौं मानिसहरुले जुलुस निकालेका थिए।

शहरका मेयरको नेतृत्वमा रहेको जुलुसका सहभागीहरुले विदेशीलाई घृणा गर्नेहरुको विरोधमा नाराबाजी गर्दै एकीकृत अफ्रीकी महादेशको पक्षमा आवाज उठाएका थिए।

असफल

लुटपाट हुने डरले जोहानेसबर्ग वरपर इथियोपीया, सोमालिया र अफ्रिकाका अन्य भेगबाट आएका ब्यापारीहरुले आफ्नो पसल ब्यवसाय बन्द गरेका थिए।

डर्बन र जोहानेसबर्ग दुवै स्थानमा बिहीबार नै आप्रवासी विरोधी भेलाहरु पनि भएका तर त्यसलाई प्रहरीले असफल पारिदिएको विवरणहरु पनि आएका छन्।

डर्बन र वरपरका क्षेत्रबाट शुरु भएको हिंसा देशको आर्थिक राजधानी जोहानेसबर्ग लगायत अन्य क्षेत्रहरुमा पनि फैलिएको छ।

सन् २००८ मा देशै भरी विदेशीहरु विरुद्ध फैलिएको हिंसाका कारण ६२ जनाको ज्यान गएको थियो।