नयाँ मोर्चाबारे मधेसी र जनजातिबीच मतभेद

  • 19 एप्रिल 2015
तस्वीर कपीराइट Riva Bhattarai BBC
Image caption मोर्चाको आमहडताल फिर्ता भएपछि मधेसी र जनजाति नेताहरु असन्तुष्ट भएका छन्

तराई केन्द्रित कतिपय दलहरुले एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाबाट बाहिरिएर मधेसी र जनजातिको छुट्टै मोर्चा बनाउनुपर्ने बताईरहेका बेला उक्त मोर्चामा सामेल प्रमुख जनजाति दलहरुले त्यसलाई अस्वीकार गरेका छन्।

झण्डै दुई साता अगाडि मोर्चाले आह्वान गरेको तीन दिने आमहडताल एक दिनमै फिर्ता लिएपछि तराई केन्द्रित केही दलहरुले मोर्चाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

सत्तारुढ दलहरुलाई सहमतीय आधारमा संविधान बनाउन दबाब दिने भन्दै गएको चैत २४ गतेदेखि आह्वान गरिएको तीन दिने आमहडताल ३० दलीय मोर्चाका अध्यक्ष प्रचण्डले एकै दिनमा फिर्ता लिएपछि तराई केन्द्रित केही पार्टी र पहिचान पक्षधर भनिने जनजाति नेताहरुले असन्तुष्टि प्रकट गरेका थिए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बाहेकका दलहरुले ३० दलीय मोर्चाबाट अलग्गिन सक्ने समेतका अभिव्यक्ति दिएका थिए।

विमति

तर ती भनाईप्रति ३० दलीय मोर्चामै सामेल प्रमुख जनजाति दलका नेताहरुले विमति जनाएका छन्।

संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले भने, “३० दलीय गठबन्धनमा देखिएका कमी कमजोरीलाई हटाउनुपर्छ, नयाँ मोर्चा बनाई हाल्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छैन्।”

जनजातिहरुको प्रतिनिधित्व गर्ने अर्को घटक सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले पनि तत्काल तराई केन्द्रित दलहरुसँग मिलेर छुट्टै मोर्चा बनाउन नसकिने बताए।

उनले भने, “हामी जनजाति पार्टीहरुले पनि ३० दलीय मोर्चा फुटाउने र अलग्गिने कुरा कुनै पनि हालतमा गर्नुहुन्न, बरु अझ यसलाई प्रभावकारी बनाउने र पहिचानको मुद्दालाई सशक्त बनाउँ भन्ने चाहिँ छलफल भएको हो।”

छलफल

तर एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाबाट अब आन्दोलन अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका तराई केन्द्रित दलहरुमध्येका एक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनजाति पार्टीहरुसँग मिलेर छुट्टै मोर्चा बनाउने विषयमा छलफल अघि बढिरहेका बताएका छन्।

उनले भने, “मधेसी र जनजाति नेताहरुमा छुट्टै मधेसी जनजाति गठबन्धन गरेर संघर्षमा जाने विषयमा सम्बन्धमा पनि छलफल भइरहेको छ।”

यद्यपि हाल सत्ताधारी दलहरुसँग सहमतिका थप प्रयासमा सामेल एकीकृत माओवादीको उद्देश्यलाई लिएर तराई केन्द्रित तथा जनजाति दुवै थरी दलका नेताहरुको मनमा आशंका भने बढ्दै गएको विश्लेषकहरुको भनाई छ।