पर्वतारोहण सुरक्षित बन्न सकेन: शेर्पा आरोही

  • 18 एप्रिल 2015
तस्वीर कपीराइट AFP
Image caption हिमपहिरोको उक्त घटनापछि कति शेर्पा आरोहीलाई घरबाट पेशा परिवर्तन गर्न दबाब आउने गरेको बताइन्छ।

१६ जना आरोहीहरुको ज्यान लिने गरी सगरमाथामा हिमपहिरो गएको एक वर्ष पुगिसक्दा पनि आफूहरुको हित र पर्वतारोहणलाई सुरक्षित बनाउनका लागि सरकारले पर्याप्त कदम नचालेको नेपाली पथप्रदर्शक तथा आरोहीहरुले गुनासो गरेका छन्।

ज्यान गुमाउनेहरुमध्येका केही परिवारले आफूहरुले पाउनुपर्ने पूरा सुविधा समेत नपाएको भन्दै जीवन चलाउन अप्ठ्यारो परिरहेको बताए।

सरकारी अधिकारीहरुले भने स्रोतले भ्याएसम्म आफूहरुले सेवासुविधामा वृद्धि गरेको र पर्वतारोहणलाई सुरक्षित बनाउन नयाँ कदमहरु चालेको जनाएका छन्।

आरोहणका क्रममा ज्यान गुमाएका कतिपय आरोही तथा सहयोगीहरुका परिवार आम्दानी गर्ने प्रमुख सदस्य नै गुमाएपछि दैनिक गुजारा गर्नसमेत अप्ठ्यारोमा परिरहेको देखिन्छ।

गुनासो

गत वर्षको हिमपहिरोमा ज्यान गुमाएका आरोहण सहयोगी आशमान तामांगकी श्रीमती अनिताले बिमाको रकम १५ लाख रुपैयां पनि पुरा नपाएको गुनासो गरिन्।

उनले भनिन्, "सबैको १५ लाख आयो, मेरो चाहिँ १३ लाख आयो। अब मुख्य मान्छे नै नभएपछि अप्ठेरो र जीवन धान्न त गार्हो नै भइरहेको छ।"

गत वर्षको दुर्घटनापछि सरकारले जीवन बीमा रकममा वृद्धि लगायतका कदमहरु चाल्दै सगरमाथा आधारशिविरमा सरकारी सम्पर्क कार्यालय खोल्ने निर्णय समेत गरेको छ।

जल तथा मौसम विज्ञान विभागसंग समन्वय गरी आरोहणमा गएकाहरुलाई मौसमबारे नियमित जानकारी दिने व्यवस्था पनि मिलाइएको सरकारी अधिकारीहरुले जनाएका छन्।

अवस्था

तर यी कदमहरु पर्वतारोहणलाई सुरक्षित बनाउन तथा आरोहणमा संलग्नहरुको हितका लागि पर्याप्त नभएको भन्दै आरोहीहरुले गुनासो गरेका छन्।

सगरमाथा आरोही एवम् नेपाल पर्वतारोहण संघका सदस्य पासाङ्ग शेर्पाले भने, "समग्रमा भन्ने हो भने अघिल्लो वर्षको क्षतिको भन्दा खासमा केही फरक भएको त भन्न मिल्दैन। अवस्था त्यस्तै छ।"

अर्का आरोही फुरा गेल्जेन शर्पाले भने परिस्थितिमा पर्याप्त सुधार नभएपनि जीवन धान्नका लागि पथप्रदर्शकहरु जोखिम मोलेरै पर्वतारोहणमा लागिरहेको बताए।

राज्यले पर्वतारोहणमा संलग्नहरुका लागि पछिल्लोपटक तत्काल केही सुविधा बढाएपनि दीर्घकालीन रुपमै ठोस कदमहरु चाल्नुपर्ने उनको भनाइ थियो।

असर

उनले भने, "कुनै पनि राम्रो आरोहीलाई पेन्सनको व्यवस्था भयो भने भविष्यमा उनीहरुको परिवारलाई बाँच्न अलि सुरक्षित हुन्थ्यो।"

पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले भने सरकारी स्रोतले सम्भव भएसम्म सेवासुविधाहरु उपलब्ध गराइएको भन्दै त्यो बढाउंदै लगे पर्वतारोहणमा नकरात्मक असर पर्ने टिप्पणी गरे।

उनले भने, "हामीले जति यता बढायौं त्यति हाम्रो पर्वतारोहण महंगो हुँदै जान्छ। त्यसले गर्दा मानिसहरु चीनतर्फबाट जाने भए।"

तर आरोहीहरुले भने हिमाल आरोहणबाट ठूलो शुल्क उठाउने सरकारले त्यो आम्दानीका लागि योगदान गर्नेहरुका निम्ति त्यसको ज्यादै न्यून हिस्सामात्रै खर्च गरिरहेको गुनासो गरेका छन्।