राष्ट्रपति जुमाले इन्डोनेसियाको भ्रमण रद्द गरे

  • 18 एप्रिल 2015
दक्षिण अफ्रिका तस्वीर कपीराइट AFP
Image caption आक्रमणका घटनाहरु देशका अन्य भागमा पनि फैलिएका छन्।

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जुमाले आफ्नो देशमा विदेशीहरुविरुद्ध हिंसात्मक आक्रमणका घटनाहरु बढेपछि इन्डोनेसियाको भ्रमण रद्द गरेका छन्।

यी घटना रोक्न नेतृत्वदायी भूमिका खेल्न विफल भएको भन्दै आलोचित जुमाले उत्तरी शहर डर्बानको शरणार्थी शिविरको भ्रमण गर्ने भएका छन्।

भागेर आएका हजारौं आप्रवासी कामदारहरु उक्त शिविरमा बसिरहेका छन्।

देशकै व्यापारिक केन्द्र जोहानेस्बर्गमामात्रै रातभर भएको ताजा झडपमा ३० जना मानिसहरु पक्राउ परेका छन्।

आह्वान

त्यहाँ विदेशीहरुले चलाइरहेका थुप्रै व्यापार व्यवसायमाथि सानो समूहका मानिसहरुले तोडफोड गरेका थिए।

गत दुई सातायता भएका त्यस्ता आक्रमणमा कम्तीमा ६ जनाको ज्यान गएको छ भने १ सय पचास जना हतियारसहितका मानिसहरु पक्राउ परेका छन्।

तिनले विदेशीहरुले सञ्चालन गरिरहेका पसल र घरलाई लक्षित गरी आक्रमण गरेका थिए।

प्रहरीले शहरको उत्तरी भेगमा पर्ने एलेक्जेन्ड्रामा लुटेराहरुलाई तितरवितर पार्न रबरका गोलीहरु प्रयोग गरेका थिए।

हजारौं आप्रवासीहरु घर छाडेर अस्थायी शिविरहरुमा शरण लिन पुगेका छन्।

आरोप

छिमेकी जिम्बाब्वे, मलावी र मोजाम्बिकले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता लैजाने योजनासमेत घोषणा गरिसकेका छन्।

यसैबीच प्रहरीले भने आप्रवासीमाथि भइरहेका आक्रमणसम्बन्धी अपुष्ट सन्देशहरु जथाभावी सामाजिक सञ्जालमार्फत प्रेषित गर्दा सन्त्रास फैलिएको भन्दै त्यसलाई रोक्न आह्वान गरेका छन्।

एएफपी समाचार संस्थाले जनाए अनुसार प्रहरी प्रवक्ता लुनगेलो लामिनीले पछिल्ला आक्रमणबारे बोल्दै पक्राउ परेका मानिसहरुलाई सार्वजनिक हिंसा, सम्पत्तिमाथिको क्षति, घर तोडफोड तथा चोरीको अभियोग लगाइने बताएका छन्।

सन् १९९४ मा गोरा जातिको रंगभेदी शासनको अन्त्य भएपछि अफ्रिकी मुलुकहरु र एसियाका धेरै आप्रवासीहरु दक्षिण अफ्रिकामा पुगेका थिए।

धेरै दक्षिण अफ्रिकीहरुले आफ्नै देशमा बेरोजगारीको दर २४ प्रतिशत रहेको बेला विदेशीहरु आएर आफ्नो देशको रोजगार खोसेको भन्दै आरोप लगाउने गरेका छन्।

केही दिन अगाडी त्यहाँका जुलु जातिका स्थानीय राजाले विदेशीहरुले दक्षिण अफ्रिका छाड्न पर्ने बताएपछि पछिल्ला हिंसाका घटनाहरु भएका छन्।