यसपालि समयमै पाठ्यपुस्तकः जनक शिक्षा

  • 18 एप्रिल 2015
Image caption विगतमा समयमै पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीहरुको पठनपाठनमा समस्या आउने गरेका थिए

नयाँ शैक्षिकसत्रमा पठनपाठन शुरु हुने बेलासम्म सबै विद्यार्थीहरुमाझ पाठ्यपुस्तक पुर्याइसक्ने अधिकारीहरुले बताएका छन्।

शिक्षा विभागले गरेको अनुगमनका क्रममा जनक शिक्षा सामाग्री केन्द्र र छपाईको जिम्मा पाएका विभिन्न निजी प्रकाशकहरुले आवश्यक मात्रामा किताब छपाएर वितरणको व्यवस्था समेत गरिसकेको देखिएको उनीहरुको भनाई छ।

विगतका वर्षहरुमा शैक्षिकसत्रको मध्यसम्म पनि विद्यार्थीले पाठयपुस्तक नपाएपछि सरकारले पाठ्यपुस्तक छपाईको जिम्मेवारी निजी प्रकाशकहरुलाई पनि दिन शुरु गरेको थियो।

गत वर्ष संख्याको आधारमा छपाईको बाँडफाँड गरेको शिक्षा मन्त्रालयले यो वर्ष भने १ कक्षादेखि ५ कक्षासम्मको छपाई निजी प्रकाशकहरुलाई र ६ कक्षादेखि १० कक्षासम्मको छपाईको जिम्मेवारी जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको थियो।

परिमाण

यसरी छपाईको जिम्मेवारी पाएकाहरुले आवश्यक परिमाणमा छापेर विक्री वितरण नै शुरु गरिसकेकाले यो वर्ष समयमै विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने अनुगमनको जिम्मेवारी पाएको शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालले बताए।

उनले भने, “परीक्षाफल प्रकाशित भइसकेपछि जिल्लाका विभिन्न ठाँउहरुमा विक्री वितरण शुरु भएको छ, हामी यो वर्ष विद्यालय शुरु हुँदा विद्यार्थीहरुले पाठ्यपुस्तक लिएर जान्छन् भन्ने कुरामा ढुक्क छौँ।”

जनक शिक्षा सामाग्री केन्द्रले दिएको कोटामा कक्षा ६ र कक्षा ७ का पाठ्यपुस्तक केही कम छापिएको भएपनि त्यो गत वर्ष निजी प्रकाशकहरुसँग बाँकी रहेका किताबबाट पूरा हुने रिमालको भनाई छ।

वैकल्पिक

उनले भने, “नपुग्ने स्थिति आयो भने तत्कालै कुन कक्षाको पुग्दैन त्यो हिसाबले वैकल्पिक उपाय खोज्ने कुरा भएको छ, तर अहिलेको नपुग्ला जस्तो मलाई लाग्दैन।”

जनक शिक्षा सामाग्री केन्द्रले हरेक जिल्लामा वितरण केन्द्र स्थापना गरेको र वितरणको अनुगमनको समेत व्यवस्था गरिएको बताइएको छ।

सबै विद्यालयलाई समयमै पुस्तक लिन पत्राचार समेत गरी सकिएको विभागले जनाएको छ।

यस वर्ष कुल ७० लाख पाठयपुस्तक छाप्नुपर्नेमा निजी प्रकाशकहरुलाई ३० लाख र जनक शिक्षा सामाग्री केन्द्रलाई ४० लाख छाप्ने जिम्मेवारी दिइएको थियो।