मेक्सिकोको रेनोसा शहरमा गोली हानाहान

  • 18 एप्रिल 2015
तस्वीर कपीराइट El Manana
Image caption रेनोसामा हिंसा दैनिक जीवनको अभिन्न अंग बन्न पुगेको बताइन्छ

अमेरिकाको टेक्सस राज्यसँग सीमा जोडिएको मेक्सिकोको उत्तरी शहर रेनोसामा शुक्रबार अपरान्हदेखि लामो समयसम्म गोली हानाहान भएको अधिकारीहरुले बताएका छन्।

त्यस क्रममा सडकहरु अवरुद्ध पारिएको बताइएको छ।

मेक्सिकोका हिंसाग्रस्तमध्ये एक मानिने तामोलीपास राज्यमा उक्त शहर पर्दछ।

लागुऔषध कारोबार गर्ने समूहका एकजना नाइके पक्राउ परेपछि पछिल्लो हिंसा शुरु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्।

शुक्रबार अपरान्हदेखि हिंसा शुरु भएको हो।

चेतावनी

गोली हानाहान भईरहेको छ भने सडकहरुमा अवरोध खडा गरिएका छन् र सवारी साधनमा आगजनी गरिएको छ।

हिंसा शुरु हुनासाथ स्थानीय अधिकारीहरुले शहरका विभिन्न भागमा सुरक्षा चेतावनी जारी गरेका छन् र घरबाहिर ननिस्किन आग्रह गरेका छन्।

तर दुर्भाग्यको कुरा के छ भने रेनोसामा हिंसा दैनिक जीवनको एउटा पाटो बन्न पुगेको छ।

गल्फ कार्टेल नामको लागुऔषध तस्कर समूह मेक्सिकोको सबैभन्दा ठूलो आपराधिक समूह हो, जुन राज्यभर सक्रिय छ।

हिंसा

जबजब प्रतिद्वन्द्वी समूहहरुबीच लडाइ हुन्छ, अनि हिंसा फैलिन्छ।

उक्त समूहका नाइके हालै पक्राउ परेका थिए।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनको पक्राउको प्रतिक्रियास्वरुप पछिल्लो हिंसा शुरु भएको छ।

तर थोरै मानिसहरुलाई मात्र ती नाइकेको नाम अझ भनौँ उनको वास्तविक नाम थाहा छ।

उक्त समूहका अन्य नेताहरु मारिएपछि र पक्राउ परेपछि उनी नाइकेको रुपमा उदाएको बताइन्छ।