आप्रवासीविरुद्धको आक्रमण रोक्छौँः जुमा

  • 19 एप्रिल 2015
तस्वीर कपीराइट Reuters
Image caption दक्षिण अफ्रिकामा आप्रवासीहरुलाई लक्षित गरी आक्रमणहरु हुन थालेको बताइएको छ

आप्रवासीहरुमाथि भईरहेका आक्रमणहरुका निम्ति क्षमायाचना गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जुमाले त्यस्ता हिंसा रोक्ने बताएका छन्।

आप्रवासीहरुविरुद्ध ताजा हिंसा चर्केपछि उनले डर्बान बन्दरगाहस्थित शरणार्थी शिविरको भ्रमण गरेका छन्।

जुमाले हिंसाका कारण भागेका मानिसहरुलाई उनीहरुविरुद्धको आक्रमण दक्षिण अफ्रिकी मान्यता विपरीत भएको बताए।

त्यस्ता आक्रमणहरुको आफूले अन्त्य गर्ने उनको भनाई थियो।

अल्पसंख्यक

तर आक्रमण रोक्नका निम्ति मन्द गतिमा काम गरेको भन्दै भीडमा रहेका केही मानिसहरुले उनको खिल्ली उडाएका थिए।

डर्बानमा गरिएको जातीय आक्रमणमा कम्तीमा ६ जनाको ज्यान गएको र अन्य क्षेत्रमा पनि हिंसा फैलिएको बताइएको छ।

सन् १९९४ मा अल्पसंख्यक गोरा जातिहरुको शासन अन्त्य भएयता अन्य अफ्रिकी मुलुक र एसियाली मुलुकबाट ठूलो संख्यामा आप्रवासीहरु दक्षिण अफ्रिका पुगेको बताइन्छ।

तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति ज्याकब जुमाले आप्रवासीमाथिको आक्रमणको निन्दा गरेका छन्

तर आप्रवासीहरुले आफूहरुको रोजगारी खोसेको धेरै दक्षिण अफ्रिकी नागरिकहरुको आरोप छ।

एउटा वक्तव्यमा जुमाले भनेका छन्, “यी आक्रमणहरु हामीले विश्वास गर्ने कुराहरुभन्दा बाहिरका कुरा हुन्, दक्षिण अफ्रिकाका बहुमत जनता यस महादेशमा बस्ने सबै दाजुभाई तथा दिदीबहिनीसँग शान्ति र असल सम्बन्ध चाहन्छन्।”

हिंसा

त्यसपछि उनले डर्बानको च्याट्सवर्थ क्षेत्रमा रहेको शरणार्थी शिविरको भ्रमण गरे।

त्यसअघि जुमाले आफ्नो पूर्वनिर्धारित इन्डोनेसिया भ्रमण रद्द गरेका थिए।

टेलिभिजनमार्फत दिएको एउटा वक्तव्यमा उनले भने, “हामी निश्चितै रुपमा हिंसा रोक्न गईरहेका छौँ।”

स्वदेश फर्कने योजना बनाइरहेका आप्रवासीहरुलाई संबोधन गर्दै जुमाले भने, “स्वदेश फर्किन चाहनेहरु हिंसा रोकिएपछि पुनः दक्षिण अफ्रिका फर्किए स्वागत छ।”

उनले अल्पसंख्यकहरुले समस्या निम्त्याइरहेको आरोप लगाए।