'सहमति भएका विषयका आधारमा मस्यौदा’

  • 20 एप्रिल 2015
तस्वीर कपीराइट AFP
Image caption सहमतिमा संविधान लेखिनुपर्ने माग गर्दै एकीकृत माओवादीले संविधानसभाको बैठक बहिस्कार गर्दै आएको छ

संघीयता सम्बन्धी विवादमा छलफल जारी राख्दै सहमति भएका विषयका आधारमा मस्यौदा लेखन अघि बढाउन प्रमुख तीन दल लगभग सहमत भएको नेताहरुले बताएका छन्।

गएको माघमा संविधानसभाले बहुमतीय प्रकृया अघि बढाएपछि संविधान लेखनबारे सत्तापक्ष र विपक्षी दलबीच बढेको दूरी सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको छलफलले घटाएको नेपाली काँग्रेसका एकजना वार्ताकारले बताए।

एकीकृत माओवादीका एक जना नेताले पनि आगामी बिहीबार बोलाइएको संविधानसभाको बैठक अघि मस्यौदा लेखनको प्रकृयाबारे सहमति जुट्ने सम्भावना बढेको बताए।

इन्डोनेसियाको वाङ्डुङ्मा यसै हप्ता आयोजना हुने एसियाली तथा अफ्रिकी मुलुकहरुको सम्मेलनमा भाग लिन त्यसतर्फ जानु अघि सोमबार प्रधानमन्त्री सुशील कोइरालाले तीन दलको बैठक बोलाएका थिए।

विश्वास

उक्त बैठकमा प्रमुख दलहरुबीच भावी संविधानका विषयवस्तुमा अहिलेसम्म भएका सहमतिलाई मस्यौदा समितिमा पठाउने र संघीयताबारेको छलफललाई निरन्तरता दिने विषयमा लगभग समझदारी भएको नेताहरुले बताएका छन्।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका बारेमा प्रस्ताव तयार गरेर मस्यौदा समितिमा पठाउने र संघीयताका बारेमा छलफल जारी राख्ने टुङ्गो नजिक नेताहरु पुगेको बताए।

उनले भने, “आजको छलफलले एमाओवादी र हामी नेपाली काँग्रेस र नेकपा एमालेहरुको बिचमा परस्परमा संविधानका विवादित बिषयमा छलफल गर्ने एउटा विश्वासको वातावरण बनेको छ।”

तीन दलको बैठकले आगामी बिहीबार बस्ने संविधानसभाको बैठक अघि नै उक्त प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी तीन प्रमुख नेतालाई दिएको छ।

एक वर्ष भित्र संविधान जारी गर्ने म्याद गएको माघ ८ गते गुजार्न अघि एकीकृत माओवादीले प्रदेशहरुको संख्या, सीमाकंन र नामाकंनका बारेमा सत्तापक्ष लचक भए शासकीय स्वरुपमा फरक मत राख्दै मस्यौदा लेखन अघि बढाउन आफू तयार रहेको बताएको थियो।

तर दुवै पक्षबीच सहमति नुहँदै बहुमतीय प्रकृया अघि बढाइएको भन्दै विपक्षी सभासदहरुले संविधानसभाको बैठक बहिस्कार गर्दै आएका छन्।

मस्यौदा

पछिल्लो छलफलले समझदारीमा नै संविधानको मस्यौदा लेखन प्रकृया अघि बढ्ने सम्भावानालाई बढाएको बालुवाटारमा भएको तीन दलीय बैठकमा सहभागी एकीकृत माओवादीका उपाध्यक्ष नरायणकाजी श्रेष्ठले बताए।

उनले भने, “नेपाली जनतालाई संघीयता सहितको संविधान दिनु नै राम्रो हुन्छ त्यसको लागि हामी प्रयत्न गर्छौ तर त्यस विषयमा १० गते भित्र सहमति बन्न सकेन भने पनि मस्यौदा लेखनको प्रकृया सहमतिबाटै अघि बढ्ने सम्भावना बढी छ।”

एकीकृत माओवादीसँग समझदारीमा पुगेपछि तराई केन्द्रीत दलहरुलाई समेत सहमतिमा लिएर प्रकृया अघि बढाउने सत्तापक्षीय दलहरुले बताउँदै आएका छन्।

विपक्षीसँग सहमति भए आगामी असार मसान्त भित्र नयाँ संविधान ल्याउन सकिने उनीहरुको भनाइ छ।