पाकिस्तानमा चिनियाँ लगानी घोषणा

  • 20 एप्रिल 2015
स्वातग तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति सीलाई इस्लामावादमा भव्य स्वागत गरिएको थियो

चिनियाँ राष्ट्रपति सी जीनपिङको पाकिस्तान भ्रमणका अवसरमा उर्जा तथा पूर्वाधार लगायतका परियोजनाहरुमा छयालिस अर्ब डलर बराबरको चिनियाँ लगानीको घोषणा गरिएको छ।

राष्ट्रपति सी पाकिस्तानको दुई दिने भ्रमणको क्रममा सोमबार इस्लामावाद पुग्दा उनको भव्य स्वागत गरिएको थियो।

चीन पाकिस्तानको सबैभन्दा निकट सहयोगीहरुमध्ये एक हो।

निर्माण

प्रस्तावित चिनियाँ लगानीको केन्द्रमा चीन पाकिस्तान आर्थिक करिडर रहेको छ, जस अन्तर्गत सडक, रेल, उर्जा तथा ग्याँस पाइपलाईनहरुको निर्माण गरिने छ।

झण्डै तीनहजार किलोमिटर लामो उक्त करिडरले पाकिस्तानको ग्वादर क्षेत्रलाई चीनको सिन्जियाङ प्रान्तसंग जोडने छ।

यसबाट पाकिस्तानले उसको गंभीर उर्जा संकट समाधान गर्न मदत पुग्नुकासाथै पूर्वाधार विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरेको छ।

चीनले चाहिं सोही करिडर मार्फत हिन्द महासागर र त्यहाँभन्दापनि पर आफ्नो पहुँच पुराउने लक्ष्य लिएको छ।

इस्लामावादस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, “मुख्य प्रश्न भनेको उग्रवाद, पृथकतावाद, राजनीतिक अस्थिरता र भ्रष्टाचारजस्ता समस्याहरुसंग जुधिरहेको पाकिस्तानले के यी महत्वाकांक्षी परियोजनाहरु कार्यान्वयन गर्न सक्ला भन्ने नै हो ?”

अपेक्षा

दुबै देशहरुबीच सुरक्षा सहायता संबन्धमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

चीन उसको मुस्लिम बहुल सिनजियाङ प्रान्तमा जातीय उइगुरहरुबाट हुनसक्ने हिंसाप्रति पनि चिन्तित छ।

उसको कट्टरपन्थी उइगुर उग्रवादीहरु र पाकिस्तानी तालिबानबीच गठजोड हुनसक्ने पनि आशंका छ।

उता ग्वादर बन्दरगाह रहेको पाकिस्तानको बलोचिस्तान प्रान्तमा पनि गएको एक दशकदेखि पृथकतावादी सशस्त्र आन्दोलन चलिरहेको छ।

तर त्यस क्षेत्रको आर्थिक विकासले यस्ता गतिविधिलाई मथ्थर पार्न मदत पुग्ने पाकिस्तानी अधिकारीहरुले आशा गरेका छन्।