साउदी नेतृत्वको बमबारी अन्त्यको घोषणा

  • 22 एप्रिल 2015
Image caption यमनमा हुथी विद्रोही लक्षित बमबारी अन्त्य गरेको बताइएको छ

साउदी अरेबियाको नेतृत्वमा भइरहेको यमनमा हुथी विद्रोही लक्षित बमबारी अभियान अन्त्य गरेको घोषणा गरिएको छ।

साउदी रक्षा मन्त्रालयले भनेको छ 'अब समस्याको राजनीतिक समाधान खोजिनेछ'।

रियादस्थित सैन्य प्रवक्ताले अबको कारवाही मुख्यत मानवीय सहयोग उपलब्ध गराइने र यमनका लागि राजनीतिक समाधानको खोजी गरिने बताए।

विद्रोहीहरुको समर्थन गर्ने इरानले साउदी घोषणालाई एक कदम अगाडि बढेको बताएको छ भने संयुक्त राज्य अमेरिकाले राजनीतिक प्रक्रियालाई समर्थन गर्ने बताएको छ।

'कारवाही जारी'

साउदीका रक्षा प्रवक्ता अहमद असिरि भन्छन्- "हामी हुथी मिलिसियाको कुनै पनि सैनिक गतिविधि या कारवाही यमनी भूभागमा हुन नदिन हाम्रो कारवाही जारी राख्नेछौं र सर्वसाधारणको सुरक्षा गर्नेछौं।"

सैन्य शक्ति आवश्यक परेका बेला प्रयोग गरिनेछ।

गत महिनादेखि साउदी अरेबियाको नेतृत्वमा सुन्नी मुश्लिम अरब मुलुकहरुले यमनमा बमबारीको अभियान चलाएका छन्।

यो अभियानको औपचारिक उद्देश्य अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी राष्ट्रपतिलाई सत्तामा पुनस्थापित गर्नु र राष्ट्रपतिलाई विस्थापित गरेका हुथी विद्रोहीहरुलाई ध्वस्त पार्नु थियो ।

र साउदी श्रोतहरुका अनुसार वृहत लक्ष्य भने शिया मुश्लिम इरानको अर्को अरब मुलुकमा दवदवा कायम गर्ने प्रयत्न रोक्नु थियो।

इरान

इरानले हुथी लडाकुलाई निर्देशन दिएको भन्ने साउदी दावी अस्वीकार गर्छ।

यद्यपी इरानले नै उनीहरुलाई हतियार उपलब्ध गराएको देखिन्छ। साउदीले उनीहरुको अभियानको पहिलो चरणमा सफलता मिलेको दावी गरेको छ।

तर यमनी सरकार पुनस्थापित भएको छैन।

र हुथी मिलिसियाहरु अहिले पनि अपदस्थ सरकारका समर्थकहरुसँग लडाइ गरिरहेका छन्।

राजधानी साना हुथीहरुकै नियन्त्रणमा छ।

अमेरिकीहरु बमबारी अभियानको खर्चबारे बढ्दो रुपमा चिन्तित देखिन्छन् खासगरी मारिने सर्वसाधारणको संख्या ठूलो छ र यमनस्थित अल कायदाले अस्तव्यस्तताको फाइदा उठाउँदै आफुलाई बलियो बनाउँदै लगेको छ।