सभाध्यक्षद्वारा नयाँ हद म्याद

  • 23 एप्रिल 2015
तस्वीर कपीराइट bbc
Image caption संविधानसभाका अध्यक्षले वैशाख १७ गतेसम्म सहमति गर्न दलहरुलाई आग्रह गरेका छन्

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले संविधानका विवादित विषयहरुमा सहमति कायम गर्न दलहरुलाई नयाँ हदम्याद दिएका छन्।

बिहीबार बसेको संविधानसभा बैठकमा उनले बैशाख १७ गतेसम्म सहमति नभए बहुमतीय प्रकृयाबाट मस्यौदा लेखन अघि बढाउने घोषणा गरे।

एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाका एक जना नेताले संघीयता थाती राख्दै मस्यौदा लेखन अघी बढाउन सत्तापक्षसँग सहमति नभएको भन्दै शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको बताए।

आफु नेतृत्वको मोर्चासँग छलफलमा माओवादी अध्यक्ष प्रचण्ड व्यस्त भएपछि बिहीबार तीन दलको बैठक बस्न सकेन।

नयाँ म्याद

पछिल्ला दिनमा प्रमुख दलका नेतालाई अनौपचारिक रुपमा सहमति कायम गर्न पटक पटक आग्रह गर्दै आएका नेम्वाङ्गले बिहीबार भने संविधानसभाको बैठकमा नै प्रकृया अघि बढाउने घोषणा गरेका हुन्।

विपक्षी सभासदहरु अनुपस्थित बैठकलाई सम्बोधन गर्दै उनले संविधानसभाले गएको माघ २९ गते अनुमोदन गरेको प्रस्ताव निर्माण समितिको प्रतिवेदनलाई अर्को बैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाएको बताए।

उनले भने, “वैशाख १७ गतेको दिन ३ बजेसम्म दलहरुलाई सहमति गर्न आग्रह गर्दछु, दलहरु बीचमा सहमति हुँदा त्यसै अनुसार अघि बढने र हुननसकेमा नियम बमोजिम प्रकृया अघि बढ्ने व्यहोरा सदस्यहरुलाई जानकारी गराउँछु।”

नेम्वाङ्गले मस्यौदा लेखन प्रकृया संविधानसभाको अर्को बैठकबाट अघी बढाउने रुलिङ्ग गर्दा सत्तापक्षका सभासदहरुले टेबुल ठोकेका थिए।

यसअघि नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा संघीयताको विषयमा छलफल कायम राख्दै अन्य विषयमा मस्यौदा लेखन अघी बढाउन लगभग सहमति भएको नेताहरुले बताएका थिए।

विवाद

तीन प्रमुख दलका शीर्ष नेताहरुले बिहीबारको संविधानसभा बैठक अघी नै उक्त सहमति अनुमोदन गर्ने बताइएपनि त्यस यता उनीहरु संयुक्त छलफलमा बस्न समेत सकेका छैनन्।

बरु आफु नेतृत्वको ३० दलीय मोर्चाका कतिपय नेताहरुसँगको छलफलमा बिहीबार एमाओवादी अध्यक्ष प्रचण्डले सत्तापक्षीय दलसँग कुनै त्यस्तो समझदारी नभएको बताएका थिए।

संघीय समाजवादी दलका अध्यक्ष अशोक राईले ‘विगतका गल्ती कमजोरीलाई सच्याउँदै आन्दोलनलाई सुदृढ पारेर अघि बढ्ने प्रतिबद्धता’ प्रचण्डले जनाएको बताए।

“संघीयताको सवालमा पछि छलफल गर्दै जाउँला वा त्यसलाई आयोगमा बुझाउँला तर बाँकी कुरा टुंग्याएर जाउँ भन्ने हुन सक्दैन र अरु विषयमा पनि सहमति भएकै छैन। ३० दलको बैठक बसेर भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्ने भनेर हामीले छलफल गरिरहेका छौँ,” राईले भने।

यसअघी गएको माघ ५ गते बहुमतीय प्रकृया अघी बढाउन खोजिएको भन्दै एकीकृत माओवादीका सभासदहरुले संविधानसभा बैठकमा तोडफोड मच्चाएपछी नेम्वाङ्गले माघ ८ गते बैठक राखेर यस्तै शैलीमा उक्त विवादलाई आफूले अर्को बैठकबाट टुङ्गोमा पु-याउने घोषणा गरेका थिए।

त्यसपछी माघ ११ गते उनले प्रस्ताव निर्माण समिति गठन गरेको घोषणा गरेपछि विपक्षी सभासदहरुले संविधानसभाको बैठक बहिस्कार गरिरहेका छन्।