बंग्लादेश गार्मेन्टमा आएका परिवर्तन

  • 24 एप्रिल 2015
Image caption बंग्लादेशी गार्मेन्ट उद्योगले वर्षमा झन्डै २५ अर्ब डलरको कारोबार गर्ने गरेका छन्।

बंग्लादेशको राजधानी ढाका नजिकै दुई वर्ष अघि ८ तले राना प्लाजा फ्याक्ट्रीको भवन भत्किएपछि त्यसले त्यहाँका उद्योगहरु र सस्तो ज्यालामा खटिने मजदुरमा निर्भर विदेशी कम्पनीहरु माथि कयौं प्रश्नहरु खडा गरेको थियो।

उक्त घटना भएको दुई वर्षपछि बंग्लादेशी गार्मेन्ट क्षेत्रमा आएका र नआएका परिवर्तनबारे बीबीसी बांग्लाका अकबर हुसैनले बुँदागत विश्लेषण गरेका छन्।

राना प्लाजामा भएको दुर्घटनापछि प्रतिमहिना ४५ डलर रहेको मजदुरको न्युनतम ज्याला बढेर ६५ डलर पुगेको छ।

उद्योग मालिकहरुले उल्लेख्य दरमा ज्याला बढाएको बताउने गरेका छन्।

तर कामदारहरुले अझै बढी बृद्धी हुनुपर्ने माग गरिरहेका छन्।

मजदुर संगठनका नेताहरुले न्युनतम ज्याला मासिक १ सय २० डलर हुनुपर्ने बताउँदै आएका छन्।

राहत

तस्वीर कपीराइट Reuters
Image caption घाइते र आफन्त गुमाएका परिवारलाई सरकारले केही रकम दिएको छ

उक्त दुर्घटनामा हताहत भएका मजदुर र तिनका परिवारलाई राहत उपलब्ध गराउने प्रकृया अझै जारी छ।

पीडितलाई लक्षित गरी झन्डै ३ करोड डलरको अन्तराष्ट्रिय कोषको घोषणा गरिए पनि त्यसमा अझै झन्डै ६० लाख डलर उठ्न बाँकि छ।

घाइते भएका र आफन्त गुमाएका परिवारले सरकारबाट केही रकम पाएका छन्।

र प्राइमार्क जस्ता ठूला आपूर्तिकर्ता विदेशी कम्पनीले पीडितका लागि आर्थिक सहायता उपलब्ध गराएका छन्।

सन् २०१४ मा श्रम कानूनमा पुनरावलोकन गरी गार्मेन्टहरु भित्र मजदुर संगठन खोल्न पाउने अधिकार दिइएको छ।

तर गैरसरकारी संस्था र अधिकारवादी समूहहरुले अझै कतिपय उद्योग मालिकहरु संगठन स्थापना गर्न नदिने पक्षमा रहेको र उनीहरुले कमदारलाई धम्काउने, तर्साउने र आक्रमण समेत गर्ने गरिरहेको जनाएका छन्।

तस्वीर कपीराइट focus bangla
Image caption बंग्लादेशमा हालै गार्मेन्ट भित्र मजदुर संगठन खोल्न पाउने अधिकार दिइएको छ।

तर उद्योग संचालकहरुले त्यस्तो आरोपको खन्डन गर्दै श्रमिकको अधिकारको सधैँ सम्मान गर्ने बताउने गरेका छन्।

सुरक्षा

अर्को परिवर्तन औद्योगिक सुरक्षाको मामिलामा देखिएको छ। सुरक्षा सतर्कतालाई उच्च प्राथमिकतामा राखिएको छ।

युरोप र अमेरिकामा नाम चलेका ब्रान्डहरुले अन्तराष्ट्रिय श्रम संगठन आइएलओ र बंग्लादेशी अधिकारीहरुसँग मिलेर झन्डै ३५ सय उद्योगमा आगलागी र सुरक्षाको न्युनतम मापदण्ड कार्यान्वयन गराएका छन्।

सरकारले झन्डै दुई सय उद्योग निरिक्षक नियुक्त गरेको छ।

बंग्लादेशमा गार्मेन्ट उद्योग अझै विस्तार भैरहेको छ र उसको प्रति वर्षको कारोबार झन्डै २५ अर्ब डलर रहेको छ।

उद्योगीहरुले आफ्नो व्यवसायलाई आगामी ५ वर्षमा दोब्बर पुर्याउने लक्ष्य लिएका छन्।

तर जारी राजनीतिक अस्थिरताले गार्मेन्ट व्यवसायलाई घाटा पुर्याउन सक्छ किनभने हालै भएका हडताल र विपक्षीहरुको नाकाबन्दीका कारण माग अनुसार निर्यात गर्न र उत्पादन बन्दरगाहसम्म पुर्याउन समेत उद्योगहरुले सकिरहेका छैनन्।