इयुः खोजी तथा उद्धारका निम्ति सहयोग तेब्बर

  • 24 एप्रिल 2015
तस्वीर कपीराइट Reuters
Image caption उद्धार तथा खोजी कार्यका लागि थप जहाज उपलब्ध गराउन थुप्रै मुलुकहरुले वाचा गरेका छन्

ब्रसल्समा सम्पन्न इयुका नेताहरुको आपतकालीन बैठकमा भूमध्यसागरमा आप्रवासीहरु चढ्ने डुङ्गाहरुको खोजी तथा उद्धार कार्यका निम्ति गरिने सहयोग तीन गुणाले बढाउन युरोपियन नेताहरुबीच सहमति भएको छ।

पछिल्लो सहमति अनुसार मानव तस्करहरुले प्रयोग गर्ने पानी जहाजलाई नियन्त्रणमा लिने र नष्ट पारिने छ।

युरोपियन युनियनका थुप्रै सदस्य राष्ट्रहरुले भूमध्यसागरमा आप्रवासीहरुको उद्धार तथा खोजी कार्यका निम्ति पानी जहाज लगायत स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

लिबियाबाट हिँडेको एउटा डुङ्गा आइतबार भूमध्यसागरमा दुघर्टना हुँदा ८ सयभन्दा बढी आप्रवासीहरुको ज्यान गएपछि उक्त समस्याबारे छलफल गर्न इयुले आपतकालीन बैठक डाकेको थियो।

आपतकालीन

तस्वीर कपीराइट AFP
Image caption यो वर्षमात्रै ३५ हजारभन्दा बढी आप्रवासीहरु युरोप प्रवेश गरेको ठानिएको छ।

त्यसअघि दुर्घटनामा मारिएका २४ जनाको माल्टामा अन्त्येष्टि गरिएको थियो।

मध्यपूर्व र अफ्रिकामा जारी द्वन्द्वका साथै गरिबीका कारण भूमध्यसागर हुँदै युरोप छिर्न खोज्ने आप्रवासीहरुको संख्या पछिल्ला महिनाहरुमा निकै बढेको बताइन्छ।

यस वर्षमात्रै ३५ हजारभन्दा बढी आप्रवासीहरु अफ्रिकाबाट भूमध्यसागर हुँदै युरोप प्रवेश गरेको ठानिएको छ।

त्यस क्रममा १७ सय ५० जना डुबेर मरेको हुन सक्ने अनुमान छ।

आइतबारको डुङ्गा दुर्घटना सबैभन्दा दुःखद भएको बताइएको छ।

गस्ती

इयुको बिहिबारको बैठकमा थुप्रै मुलुकहरुले पानी जहाजसम्बन्धी थप स्रोत साधन उपलब्ध गराउने वाचा गरेका छन्।

यसअघि पानी जहाजबाट गरिने गस्तीमा कटौती गर्नुपर्ने वकालत गर्दै आएको ब्रिटेनले दुईवटा गस्ती जहाज तथा तीनवटा हेलिकप्टर लगायतका स्रोत साधन उपलब्ध गराउने बताएको छ।

त्यस्तै जर्मनी, फ्रान्स र बेल्जियमले पनि पानी जहाज उपलब्ध गराउने बताएका छन्।

युरोपियन काउन्सिलका प्रमुख डोनाल्ट टूस्कका अनुसार मानव तस्करहरुले प्रयोग गर्नुअघि उनीहरुको पानी जहाज नियन्त्रणमा लिने र नष्ट पार्ने योजना प्रस्तुत गर्न इयुको विदेश मामिला प्रमुख फेडेरिका मोगेरिनीलाई नेताहरुले आग्रह गरेका छन्।