‘वार्ता गर्न मोर्चाको छुट्टै टोली आवश्यक’

  • 24 एप्रिल 2015
Image caption प्रचण्डसंग खासगरी उपेन्द्र यादवले चर्को असन्तुष्टि प्रकट गरेका छन्

चैतको अन्तिम साता यता शुक्रबार पहिलोपल्ट बसेको विपक्षी ३० दलीय मोर्चाको बैठकमा विपक्षी दलहरुले अब मोर्चाको टोलीमार्फत सरकार र सत्ताधारी दलसंग वार्ता गर्नु उपयुक्त हुने निष्कर्ष निकालेका छन्।

चैतको अन्ततिर तोकिएको तीन दिने आम हडताललाई बीचैमा टुंग्याइएको भन्दै केही तराई केन्द्रित दलहरुले आक्रोश व्यक्त गरेपछि ३० दलीय मोर्चामा खटपट बढेको थियो।

त्यस यता मोर्चाको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीका नेताहरु मात्र सत्ताधारी दलहरुसंग छलफलमा छन्।

आश्वस्त

विवादका माझ मोर्चाका असन्तुष्ट नेताहरुसंग बिहीबार भेटेपछि विपक्षी मोर्चाका संयोजक समेत रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रबार उक्त बैठक डाकेका हुन्।

आम हडताल रोकेर सत्ताधारी दलहरुसंग छलफलमा लागेका प्रचण्डमाथि खासगरी मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असन्तुष्टि र आशंका प्रकट गरेपछि मोर्चाले अब आफ्नो कार्याविधि बनाई छुट्टै वार्ता टोली बनाउने विषय उठेको हो।

त्यस सम्बन्धमा शुक्रबारको बैठकले गरेको निर्णयबारे मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले भने, “मोर्चाको कार्यदलले कार्यविधि, आचारसंहिता र वार्ता टोलीबारे शनिबार र आइतबार गृहकार्य गरेर सोमबारको अर्को बैठकमा पेश गर्ने भन्ने निर्णय भएको छ।”

अहिले माओवादीका नेताहरु नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसंग निरन्तर छलफलमा रहेको अनि संविधानका विवादित विषयमा सहमति उन्मुख भएको ती दलका नेताहरुले बताउँदै आएका छन्।

निष्कर्ष

तर शुक्रबार बसेको मोर्चाको बैठकले सहमतिका लागि मोर्चाकै तर्फबाट छुट्टै वार्ता टोली बनाउन उपयुक्त हुने निष्कर्ष किन निकाल्यो भन्ने प्रश्नमा प्रवक्ता सिंहले भने, “यदि सहमतिका लागि सत्तापक्ष गम्भीरतापूर्वक वार्ता गर्न चाहन्छ भने मोर्चाकै तर्फबाट टोली बनाइदिन उपयुक्त हुन्छ भन्ने कुरा उठेको छ। यो बारेमा ठोस निर्णय सोमबारको बैठकले गर्नेछ।”

उक्त निर्णयले मोर्चाको असन्तुष्ट खेमालाई केही आश्वस्त पारेको छ।

“अब नयाँ तरिकाले मोर्चा अघि बढ्नुपर्छ। नयाँ तरिका भनेको कार्यविधि, आचारसंहिता तथा वार्ता टोली बनाएर व्यवस्थित ढंगले अघि बढ्ने हो,” मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए।

तीव्र बनेको खटपटका माझ बसेको शुक्रबारको बैठकले तत्काल मोर्चा फुटिहाल्ने हो कि भन्ने शंकालाई निस्तेज पारेपनि एकातर्फ मोर्चाको असन्तुष्ट खेमा र अर्कोतर्फ सत्ताधारी दलहरुसंगको सहमतिको प्रयासबीच तादात्म्य ल्याउने चुनौती एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका सामु खडा गरिदिएको देखिन्छ।