सडक दुर्घटना न्यूनीकरणका लागि निर्देशिका

  • 25 एप्रिल 2015
Image caption निर्देशिकाले सडक व्यवस्थापनमा पनि योगदान दिने बताईएको छ

सडक दुर्घटनालाई न्यून पार्ने मूल उद्देश्यका साथ सरकारले पहिलो पटक सवारी साधनहरुको अनुगमन निर्देशिका ल्याउने तयारी गरेको बताएको छ।

मस्यौदा भईसकेको उक्त निर्देशिका जेठ महिनाभित्र सम्पन्न गरिसक्ने यातायात व्यवस्था विभागले जनाएको छ।

आफ्नै संयोजकत्वमा यातायात व्यवसायी र ट्राफिक प्रहरी सहित बनेको केन्द्रीय अनुगमन समितिले सवारी साधनहरुको अनुगमन निर्देशिकाको मस्यौदा तयार गरिसकेको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले बताए।

सो निर्देशिका अन्तर्गत ट्राफिक प्रहरी र स्थानीय प्रशासनको सहयोगमा यातायात क्षेत्रको अनुगमनको लागि नगर तहसम्म अनुगमन समितिहरु गठन गरिने समेत उनले बताए।

कार्यान्वयन

उनले भने, “निर्देशिका बनाउने काम जेठ महिनाभित्र सम्पन्न भइसक्छ, त्यही निर्देशिका अनुसार असार महिनाभित्र अनुगमन समितिहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनेछौँ, यसको मुख्य उद्देश चाहिँ दुर्घटना न्यूनीकरण नै हो, भाडा पनि उचित लिनुपर्यो ,कानुनको पालना गर्नुपर्यो।”

दुर्घटना न्यूनीकरणका लागि सवारी तथा यातायात व्यवस्था ऐनमा कतिपय व्यवस्थाहरु भएपनि त्यो पर्याप्त नभएको भन्दै निर्देशिका जारी गर्न लागिएको उनले बताए।

निर्देशिका जारी गरिएपछि चालक, परिचालक र व्यवसायीहरुबाट हुने लापारवाहीलाई कडाईका साथ नियन्त्रण गरिने र भाडामा मनपरी गर्नेलाई कारवाहाी हुने बताईएको छ।

परिचालन

यसका लागि स्थानीय तह सम्म परिचालन गरिने अनुगमन समितिहरुको लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरिने बुर्लाकोटीले बताए।

“अनुगमनका लागि बजेटमा पनि प्राथमिकता दिएका छौं, साप्ताहिक र विशेष अनुगमनको लागि आउने बजेटमा पनि व्यवस्था गर्छौँ,” उनले भने।

सवारी ऐनमा यातायात क्षेत्रमा मनपरी गर्नेलाई कडा कानुनको व्यवस्था गरिएको भएपनि दुर्घटना न्यूनीकरणमा उल्लेख्य प्रगति नभएको भनेर आलोचना भईरहेका बेला बनाउन लागिएको निर्देशिकाको पनि कार्यान्वयन कतिको हुने हो भन्ने आशंका चाहिँ कायमै छ।