ज्यान गुमाउनेहरुको संख्या २३ सय नाघ्यो

  • 26 एप्रिल 2015
तस्वीर कपीराइट AP
Image caption उद्धार जारी रहँदा नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट सहयताको घोषणा भइरहेका छन्।

नेपालमा शनिबार गएको भूकम्प र पराकम्पनहरुपछि मर्नेहरुको संख्या २३ सय नाघेको अधिकारीहरुले जनाएका छन्।

भूकम्प पश्चात ठूला पराकम्पनका धक्काहरु आइतबार पनि जारी रह्यो।

जसका कारण बढेको त्रासको वातावरणका माझ भूकम्पको विषयलाई लिएर जथाभावी हल्ला फैलिंदा आफूहरुलाई काम गर्न अप्ठेरो परेको सरकारले बताएको छ।

उद्धार तथा राहत कार्य अघि बढ्दै गर्दा सरकारले खासगरी खानेपानी, पाल, रगत लगायत भग्नावशेष पन्छाउने उपकरण जस्ता विभिन्न सामाग्रीहरुको अभाव भएको जनाएको छ।

सहयोग

उसले सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय निकायहरुलाई पनि यी सामाग्री मार्फत सहयोग गर्न भनिरहेको छ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले भने, "पानी पुगेको छैन। बिजुलीको समस्या सकेसम्म समाधान गर्दै जानेछौं। पेट्रोलियम पदार्थको आपूर्तिमा केही समस्या भएको छ। टाढा टाढाको ठाउँमा पानी पुर्याउने काम झन जटिल छ।"

खासगरी अस्पतालको छेउछाउका औषधि पसल अनिवार्य खोल्न नत्र भने सरकारले आफैँ खोलिदिने उनले बताए। साथै ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा सुरक्षा प्रदान गरिने र तिनले खाद्यवस्तु विक्रिवितरण गर्नुपर्ने उनले बताए।

त्यो भन्दा ठूलो समस्या निराधार हल्लाका कारण आइपरेको भन्दै मन्त्री रिजालले अफवाहहरुका पछि नलाग्न अपील गरे।

उनले भने, "तपाईंहरु सबै सञ्चार माध्यमसंग म अनुरोध गर्छु यो खबर पुर्याइदिनुस् कि कसैले जान्दैन भूकम्प कतिखेर आउँछ भनेर। यस्ता हल्लाले विपदसंग जुध्ने हाम्रा प्रयत्नलाई विफल बनाउँछ।"

बाचा

सरकारलाई विभिन्न मुलुक तथा दातृनिकायले सहयोगको बाचा गरेका छन्।

भारत, चीन, पाकिस्तान, अष्ट्रेलिया, फिनल्याण्ड, जापान, संयुक्त राष्ट्रसंघ लगायतले आवश्यक सहयोगको बाचा गरेका छन्।

केही समयपछि पुनर्स्थापना र पुनर्निर्माणका लागि त्यस्ता सहयोग आवश्यक हुने अर्थमन्त्री रामशरण महतले बताएका छन्।

उनले भने, "हाम्रा कैयौं सम्पदाहरु समाप्त भएका छन्। भवनहरु भत्किएका छन्। तिनलाई पुनर्निर्माण गर्नुपर्यो। पहाडी क्षेत्रमा आधिभन्दा धेरै भवन समाप्त भएका छन्। तिनको पुनर्निर्माण गर्नुपर्यो। त्यो कार्य अर्को चरणमा शुरु हुन्छ।"

आइतबार प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किएपछि गृह मन्त्रालयस्थित राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा मन्त्रिपरिषदको बैठक अनि सर्वदलिय बैठक पनि बसेको थियो।