'मृतकको संख्या चार हजार नाघ्यो'

  • 27 एप्रिल 2015
Image caption विपद् व्यवस्थापनका लागि सरकारले उल्लेख्य तयारी नगरेको कारण क्षति बढि भएको गुनासो धेरैको छ।

भूकम्प गएको तेस्रो दिन मर्नेहरुको संख्या बढेर चार हजार नाघेको अधिकारीहरुले बताएका छन्।

अझै दुर्गम भेगमा भएको हताहतिको पूर्ण जानकारी प्राप्त नभइसकेकोले उक्त संख्या अझै बढ्न सक्ने बताइएको छ।

सरकारले उद्धार कार्य तीव्र पारेको बताए पनि त्यो पर्याप्त नभएको पीडितहरुको गुनासो छ।

गुनासो

एकजना पीडितले आफ्नो गुनासो यसरी सुनाए, "कि सास कि लाश एउटा चाहियो, त्यो घरको आमाको अवस्था के होला, दिदीबहिनीको पीडा के होला, एकातिर प्रधानमन्त्री, एकातिर राष्ट्रपतिको कार्यालयको बीचमा एउटा घर ढल्यो, त्यो घरको अहिलेसम्म उत्खनन् गरेर परिस्थिति बुझ्न नसक्नु सरकारको धेरै ठूलो कमजोरी हो।"

राजधानीको महाराजगञ्ज नजिकै भत्किएको एउटा भवनमा आफ्ना भान्जा परेको बताउने यिनीजस्तै थुप्रैले सरकारी खोज र उद्धार प्रयास प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्।

यस्ता गुनासोका माझ सरकारका मुख्य सचिव लिलामणि पौडेलले भग्नावशेष पन्छाएर खोजिकार्य गर्ने दक्ष जनशक्ति र विशेष सामाग्रीको अभाव भएको भन्दै विदेशबाट त्यस्ता सामाग्रीको माग गरिएपनि आइनपुगेको बताए।

उनले भने, "संरचनाहरु भत्किएर त्यहाँभित्र पुरिएकालाई निकाल्ने सामाग्री र खास जनशक्ति हामीले मित्र राष्ट्रहरुबाट मागेका थियौं। त्यसरी आएका टोलीसंग सामाग्री आएन केवल जनशक्तिमात्र आयो। तिनलाई परिचालन गरेका छौं। तर जुन स्तरमा हामीले गर्न सक्नु पर्ने थियो त्यो हुन नसकेको जस्तो लागेको छ।"

निगरानी

जलविद्युत गृहहरुको हकमा भोटेकोशीमा बाहेक अन्यमा नोक्सानी भएको खबर नआएको र जमीनमुनिका पानीका पाइपलाईनमा समस्या आएको पनि कुनै जानकारी नआएको उनले बताए।

मौसममा केही सुधारका कारण सोमबार गोरखा, धादिङ्, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, ललितपुर र काभ्रेपलाञ्चोक सहित सात जिल्लामा हेलिकप्टरमार्फत उद्धार र खोज कार्य तीव्र पारिएको सरकारको भनाई छ।

हताहतीको पछिल्लो आँकडा अनुसार सबभन्दा धेरै क्षति काठमाण्डौं र त्यसपछि सिन्धुपाल्चोक जिल्लामा भएको देखिएको छ।

काठमाण्डौंमा क्षतिग्रस्त पुराना सम्पदा र स्मारकका सामाग्रीहरुको सुरक्षाका निम्ति सोमबारदेखि गस्ती र निगरानी शुरु गरिने मुख्य सचिव पौडेलले बताए।

साथै अत्यावशकीय सेवा सञ्चालनमा संलग्न सबैजनाले आफ्नो कार्य गरेर सहयोग गरिदिन सरकारले आग्रह गरेको छ।