मृतकको संख्या ३ हजार नाघ्योः सरकार

  • 27 एप्रिल 2015
तस्वीर कपीराइट Jitendra Raut
Image caption भग्नावशेषमा पुरिएका मानिसहरुलाई निकाल्ने क्रम जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ

शनिबार दिउँसो गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउने मानिसहरुको संख्या ३ हजार २ सय १८ पुगेको गृह मन्त्रालयले जनाएको छ।

अधिकारीहरुका अनुसार घाइतेको संख्या ६ हजार ५ सय ३५ पुगेको छ।

हिमपहिरोका कारण सगरमाथा क्षेत्रमा पनि १७ जना आरोहीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

ठूलो भूकम्पपछि आउने पराकम्पनहरु जारी रहेका बेला अन्तर्राष्ट्रिय सहयोगहरू आउने क्रम तीव्र भएको एक अधिकारीले बताएका छन्।

पराकम्पन

विनाशकारी भूकम्प गएको दुई दिनपछि जारी पराकम्पनहरुबीच काठमाण्डू र अन्य शहरहरुमा मानिसहरुमा भूकम्पको त्रास हट्न सकेको छैन्।

वर्षा र चिसो सहदै हजारौं मानिसहरूले खुल्ला ठाउँमा बनाएका अस्थायी ओतमुनि रात गुजारेका छन्।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार शनिबार ध्वस्त भएका संरचनामुनि च्यापिएका मानिसहरु निकाल्ने काम शहरी क्षेत्रमा अझै पनि सकिएको छैन्।

उनका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाका गाउँहरुमा हेलिकोप्टरबाट उद्धार तथा राहत पठाउने काम सोमबार पनि जारी रहने छ।

उनले भने, “हेलिकोप्टरमार्फत उद्धार गरिरहेको अवस्था छ, सोमबार पनि उद्धार कार्य जारी रहन्छ।”

तस्वीर कपीराइट Reuters
Image caption अधिकारीहरुका अनुसार क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा १० वर्ष लाग्न सक्छ

सगरमाथा आरोहणको तयारी गरिरहेको पर्वतारोहीहरु समेत भूकम्पपछि आएका हिमपहिरोमा परेपछि उद्धार कार्य झनै जटिल भएको अधिकारीहरुको भनाई छ।

प्रभावित

गृह मन्त्रालयका अनुसार सगरमाथा क्षेत्रबाट आइतबार केही पर्वतारोहीहरुको उद्धार गरिएको थियो र त्यो सोमबार पनि जारी रहने छ।

प्रभावित क्षेत्रमा हजारौं हजार मानिसहरु सीमित पानी खानेकुरा र लत्ताकपडामा निर्भर भइरहेको बेला राष्ट्रसंघीय बालकोष युनिसेफले भूकम्प प्रभावित क्षेत्रका करिब १० लाख बालबालिकाका लागि अत्यावश्यक मानवय सहायता आवश्यक रहेको बताएको छ।

ढकालका अनुसार राजधानीमा बिजुली र पानीको आपूर्ती सहज बनाउनेतर्फ सरकारले ध्यान केन्द्रित गर्दैछ।

उनले थपे, “कुनै कुनै ठाउँमा पानी नआएको सुनेको छु, बिजुलीका कारण पनि त्यस्तो भएको हुन सक्छ, त्यसबारे सबै निकाय क्रियाशील हुनेछन्।”

विपद्का बेला सहयोग गर्न भारत, चीन, पाकिस्तान र पोल्याण्डका टोलीहरु नेपाल आइसकेका छन् भने संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट पनि टोलीहरु आउन लागेको बताइएको छ।