विश्व नेताहरुद्वारा समवेदना

  • 28 एप्रिल 2015
भूकम्प तस्वीर कपीराइट EPA
Image caption चारैतिरबाट विश्व नेताहरुले सदभाव, सहयोग र समवेदना व्यक्त गरेका छन्।

महाभूकम्पको विनाशबाट कारण नेपाल गम्भीर रुपमा प्रभावित भएपछि छरछिमेकका साथै नेपाललाई चारैतिरबाट विश्व नेताहरुले सदभाव, सहयोग र समवेदना व्यक्त गरेका छन्।

भारत, पाकिस्तान, अमेरिका, ब्रिटेनका नेताहरुले सद्भाव व्यक्त गर्दै गर्दा छिमेकी भुटानका प्रधानमन्त्री त आफैं उक्त सन्देश सहित काठमाण्डौं आइपुगे।

शनिबारको भूकम्प आएको दुई दिन नबित्दै सोमबार बिहान भुटानका राजा र जनताको समवेदना सन्देश बोकेर भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गे काठमाण्डौं आए।

प्रधानमन्त्री सुशील कोइरालासंग पनि भेटेका उनले विनाशबाट प्रभावित काठमाण्डौं दरबार क्षेत्र भ्रमण गरे।

विश्व सम्पदा क्षेत्रको दृश्य मुटु चुँडिने किसिमको रहेको र नेपाल र पूरै विश्वले अमूल्य सम्पदा गुमाएको उनले सामाजिक संजालको वेबसाईट ट्वीटर मार्फत व्यक्त गरेका छन्।

चिन्ता

भूकम्प आए बित्तिकै देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत लगातार नेपालबारे उल्लेख गर्दै आफ्नो चिन्ता प्रकट गरेका छन्।

नेपालको अवस्थाबारे आफ्ना वरिष्ठ मन्त्रीहरुसंग बैठक गर्दै सहयोगको नेतृत्व लिएका मोदीले आइतबारको आफ्नो मासिक रेडियो सम्बोधन ‘मन कि बात’ लाई नेपालको अवस्थामा केन्द्रित गरे।

सम्बोधनका क्रममा उनले सबै नेपालीको मुहारबाट आँसु पुछ्न उनीहरुसंग हातेमालो गरी सँगै उभिन भारतले सक्दो प्रयास गर्ने बताए।

पाकिस्तान लगायत अन्य छिमेकी मुलुकहरुका नेताहरुले पनि सोही किसिमको समवेदना प्रकट गरेका छन्।

सहानुभूति

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयले नेपालको घटनाबाट स्तब्ध भएको भन्दै पीडितहरुप्रति सहानुभूति व्यक्त गरेकी छन्।

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले ट्वीट गर्दै नेपालमा भूकम्पबाट प्रभावित सबैलाई मद्दत गर्न सबै सक्दो कार्य गर्ने बताए।

अमेरिकी विदेश मन्त्री जन केरीले नेपाल सरकारसंग निकट रही सहयोग पु-याउने भन्दै भूकम्प प्रभावितहरुको निम्ति प्रार्थना गरेको जनाएका छन्।

यसबाहेक थुप्रै देश र संघसंस्थाहरुले सहयोग गर्ने भन्दै नेपालको पीडा कम गर्न उद्यत रहेको जनाएका छन्।