मृतकको संख्या ३ हजार ७ सयभन्दा बढी

  • 27 एप्रिल 2015
तस्वीर कपीराइट Reuters

शनिबार दिउँसो गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउने मानिसहरुको संख्या ३ हजार ७ सय ३३ पुगेको गृह मन्त्रालयले जनाएको छ।

अधिकारीहरुका अनुसार घाइतेको संख्या ७ हजार दुई पुगेको छ।

गृह मन्त्रालयबाट प्राप्त मृतकहरुको संख्या विवरण यसप्रकार रहेको छ:

सिन्धुपाल्चोक- ९४४, काठमाण्डू- ९१७, भक्तपुर-२३६, ललितपुर-१५५, रसुवा-१५०, गोर्खा-२२३।

सगरमाथा क्षेत्र

तस्वीर कपीराइट Reuters

हिमपहिरोका कारण सगरमाथा क्षेत्रमा पनि १८ जना आरोहीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

ठूलो भूकम्पपछि आउने पराकम्पनहरु जारी रहेका बेला अन्तर्राष्ट्रिय सहयोगहरू आउने क्रम तीव्र भएको एक अधिकारीले बताएका छन्।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार शनिबार ध्वस्त भएका संरचनामुनि च्यापिएका मानिसहरु निकाल्ने काम शहरी क्षेत्रमा अझै पनि सकिएको छैन्।

उनका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाका गाउँहरुमा हेलिकोप्टरबाट उद्धार तथा राहत पठाउने काम सोमबार पनि जारी रहने छ।

उनले भने, “हेलिकोप्टरमार्फत उद्धार गरिरहेको अवस्था छ, सोमबार पनि उद्धार कार्य जारी रहन्छ।”

तस्वीर कपीराइट REUTERS

सगरमाथा आरोहणको तयारी गरिरहेको पर्वतारोहीहरु समेत भूकम्पपछि आएका हिमपहिरोमा परेपछि उद्धार कार्य झनै जटिल भएको अधिकारीहरुको भनाई छ। प्रभावित

गृह मन्त्रालयका अनुसार सगरमाथा क्षेत्रबाट आइतबार केही पर्वतारोहीहरुको उद्धार गरिएको थियो र त्यो सोमबार पनि जारी रहने छ।

प्रभावित क्षेत्रमा हजारौं हजार मानिसहरु सीमित पानी खानेकुरा र लत्ताकपडामा निर्भर भइरहेको बेला राष्ट्रसंघीय बालकोष युनिसेफले भूकम्प प्रभावित क्षेत्रका करिब १० लाख बालबालिकाका लागि अत्यावश्यक मानवय सहायता आवश्यक रहेको बताएको छ।

ढकालका अनुसार राजधानीमा बिजुली र पानीको आपूर्ती सहज बनाउनेतर्फ सरकारले ध्यान केन्द्रित गर्दैछ।