खुला स्थानमा बसिरहेकामा सरुवा रोगको खतरा

  • 29 एप्रिल 2015
तस्वीर कपीराइट .
Image caption खुला स्थानमा बसिरहेका भूकम्प प्रभावितहरुमा पखाला लगायतका स्वास्थ्य खतरा छ

शक्तिशाली भूकम्पका कारण खुला स्थानहरुमा दिन र रात बिताइरहेकाहरुमा पखालाको समस्या देखिन थालेको स्वास्थ सचिव शान्तबहादुर श्रेष्ठले बताएका छन्।

दुर्गमका जनता झन बढी खतरामा रहेको उनको भनाइ छ।

असामान्य अवस्थाका लागि औषधी अपुग भएकाले खरिद प्रक्रिया शुरु गरिएको र दातृ निकायसँग समन्वय गरिरहेको पनि उनी बताउँछन्।

राजधानीका त्यस्ता आश्रयस्थलमा पखाला लाग्ने समस्या देखिएपछि मंगलबारदेखि त्यसको नियन्त्रणका उपाय कार्यान्वयनमा ल्याएको श्रेष्ठले बताए।

आंकलन

श्रेष्ठ भन्छन्, "पखालाको समस्या देखिएपछि शौचालय र खानेपानी व्यवस्थापनमा ध्यान दिन थालिएको छ। ब्लीचिङ पाउडर छर्किने काम शुरु भइसकेको छ।"

राजधानीको तुलनामा बाहिरका मानिसमा चेतनाको कमीका कारण समस्या झन चर्को हुनसक्ने आंकलन गरिएको छ।

औषधीको भण्डारण अपुग रहेकाले औषधी व्यवस्थापनको काम पनि भइरहेको सचिव श्रेष्ठको भनाइ छ।

अपुग

उनी भन्छन्, "सामान्य अवस्थाका लागि गरिएको औषधीको भण्डारण अपुग छ त्यसैले मन्त्रिपरिषद्बाट निर्णय गराएर खरिद गर्न अनुमति लिइएको छ। दातृ निकायसँग पनि त्यसबारे कुराकानी भइरहेको छ।"

भूकम्प पीडितहरुलाई अस्पतालहरुमा निःशुल्क उपचारको व्यवस्था गरेको सचिव श्रेष्ठ बताउँछन्।

विरामीलाई उद्धार गरेर ल्याएपछि कसले कसरी कहाँ पुर्याउँछ ? भन्ने प्रश्नको जवाफमा सचिव श्रेष्ठ भन्छन्, "विमानस्थलमा हाम्रो समूह तम्तयार छ। विरामी आइपुग्ने वित्तिकै अवस्था हेरेर कुन अस्पताल लग्ने भन्ने निर्णय गरेर त्यतै पुर्याउने गरेका छौं।"

काठमाडौं बाहिरका जिल्ला र अन्चल अस्पतालहरुलाई पनि तम्तयार राखेर विरामी पुर्याइएको बताइएको छ।

खतरा

भूकम्पबाट प्रभावित मानिसहरुमा हप्तौं पछिसम्म विभिन्न खाले स्वास्थ्य समस्या आइलाग्ने अन्तर्राष्ट्रिय अनुभवले बताएका छन्।

हप्तौं पछिसम्म रक्तचाप बढ्न सक्ने र थुप्रै मानिसमा मानसिक समस्या देखिन सक्ने स्वास्थ्य जर्नलका लेखहरुमा उल्लेख छ।

खासगरी केटाकेटी र बृद्धहरु खतरामा रहेको बताइन्छ।

विभिन्न खाले कडा रुघा खोकी, हैजाको महामारी फैलिन सक्छ।

लामखुट्टेको समस्या बढ्ने समयमा परेकाले मलेरिया इन्सेफलाइटिस हात्तीपाइले जस्ता रोग फैलिन सक्छ।

तस्वीर कपीराइट nepalarmy.mil.np
Image caption भूकम्प गएको पाँचौ दिन पनि उद्धार जारी रहने बताइएको छ

औषधी उपचारमा पहुँच नपुग्ने त छँदैछ अति प्रभावित दुर्गमसँगको सम्पर्कविच्छेद पनि स्वास्थ्य उपचारको अर्को चुनौती बन्न सक्छ।

पछिल्लो संख्या

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार ४ हजार ७ सय ६८ जनाको ज्यान गएको र करिब १० हजार मानिसहरु घाइते भएको पछिल्लो तथ्यांक छ।

खराब मौसमका कारण मंगलबार खासगरी रसुवामा राहत तथा उद्धार कार्यका लागि हेलिकोप्टर पठाउन नसकिएको ढकाल बताउँछन्।

ढकालका अनुसार मौसमी अवस्था हेरी रसुवा र बढी प्रभावित भनिएको सिन्धुपाल्चोक जिल्लामा बुधबार राहत तथा उद्धार कार्यका लागि हेलिकोप्टर पठाउने तयारी गरिएको छ।