'नेपाललाई तत्कालै ४२ अर्ब रुपियाँ आवश्यक'

  • 29 एप्रिल 2015
तस्वीर कपीराइट EPA
Image caption विनाशकारी भूकम्पबाट ३९ वटा जिल्ला प्रभावित भएको अधिकारीहरुले बताएका छन्

संयुक्त राष्ट्रसंघ तथा उसका साझेदारले नेपालका भूकम्प पिडितलाई मानविय सहायता उपलब्ध गराउन आगामी तीन महिनाका लागि झन्डै ४२ अर्ब रुपियाँ चाहिने भन्दै त्यसका लागि अपिल गरेका छन्।

हाल आइरहेको सहयोगको प्रतिबद्धता पर्याप्त नभएको भन्दै उनीहरुले अत्यावश्क खानेकुरा, आवास, सरसफाई सहितका क्षेत्रमा उक्त रकम आवश्यक पर्ने जनाएका हुन्।

शनिबारको बिनाशकारी भूकम्पका कारण हालसम्म पाँच हजार भन्दा बढीको ज्यान गएको र १० हजार भन्दा बढी घाइते भएको सरकारले जनाएको छ।

यस्ता ठूला प्राकृतिक विपत्ती खेपेका प्रत्येक देशमा अति आवश्यक सहायता कार्यक्रम संचालन गर्न सघाउ पुर्याउन संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरुलाई उसकै शब्दमा ‘फ्ल्यास अपिल’ मार्फत आग्रह गर्ने गरेको छ।

अत्यावश्यक

बुधबार जारी गरिएको अपिलमा राष्ट्रसंघीय निकायले शनिबार र त्यसयता आएका शक्तिशाली भूकम्पबाट झन्डै ६ लाख घरहरु ध्वस्त भएको र २८ लाख मानिस विस्थापित भएको हुनसक्ने अनुमान गरेको छ।

साथै भूकम्पका प्रभावित क्षेत्रमा रहेका ९० प्रतिशत स्वास्थ्य केन्द्रहरुमा क्षति पुगेको र हजारौँ विद्यालयहरु भत्किएको उल्लेख गरेको छ।

काठमाडौंमा आयोजित एउटा पत्रकार सम्मेलनमा मानवीय साहयता समन्वयको जिम्मा पाएका राष्ट्रसंघका नेपाल स्थित प्रतिनिधि जेइमी मकगोल्डरिकले नेपालका लागि जारी गरिएको अपिलको कूल लागत ४ सय १५ मिलियन अमेरिकी डलर रहने बताए।

उनले भने, “हामीले पहिचान गरेका क्षेत्रहरु मध्ये स्वभाविक रुपमा सबैभन्दा बढी खर्च खाध्यान्न, पानी, सरसफाइ र आवासमा हुने देखिन्छ।”

राष्ट्रसंघले भूकम्प प्रभावितका लागि तीन महिनासम्म खाध्यान्न उपलब्ध गराउन झन्डै १३ अर्ब रुपियाँ, स्वास्थ्यका लागि झन्डै साढे सात अर्ब रुपियाँ र आवासका लागि पाँच अर्ब रुपियाँसम्म लाग्न सक्ने जनाएको छ।

भूकम्पको केन्द्रविन्दु र आसपासका क्षेत्रमा भएका क्षतिको विवरण अझै आइ नसकेको भन्दै उसले पछिल्लो विपत्तीमा परेका करिव एक लाख मानिसलाई अस्थायी शिविरमा राख्नुपर्ने अवस्था रहेको जनाएको छ।

अपर्याप्त

हालसम्म एशियाली विकास बैंकबाट झन्डै ३० करोड रुपियाँ अनुदान र भूटानबाट एक करोड रुपियाँ सहयोग सरकारले पाइसकेको छ भने अन्य कैयौंले सहयोगको प्रतिबद्धता जनाएका छन्।

तर नेपाल स्थित राष्ट्रसंघका मानवीय सहायता संयोजक मकगोल्डरिकले दाताहरुले हालसम्म गरेका प्रतिबद्धता सकारात्मक भएपनि अझै पर्याप्त नभएको बताए।

उनले भने, “नेपालको ठूलो क्षेत्रफल भूकम्पबाट प्रभावित भएको छ र हामीसँग पर्याप्त चिजहरु छैनन्, सम्भवत: अहिले जे प्राप्त भैरहेको छ त्यो आगामी दिनका आवश्यकताको एउटा हिस्सा मात्रै हो।”

भूकम्पका कारण भएको वास्तविक क्षतिको विवरण आएपछिमात्रै पूनर्निमाणका लागि लाग्ने खर्चबारे भन्न सकिने राष्ट्रसंघीय निकायको भनाई छ।

हालको उद्दार कार्य लगभग सम्पन्न हुने चरणमा पुगेपछि क्षतिबारे अध्ययन गरेर ठूला दाताहरुले पुनर्निमाणका लागि आवश्यक पर्ने व्यापक लगानी जुटाउन पहल गर्ने जनाइएको छ।