ज्यान गुमाउनेहरुको संख्या ५६ सय नाघ्यो

  • 30 एप्रिल 2015
तस्वीर कपीराइट Other
Image caption भूकम्पमा जनधनको मात्रै नभइ ठूलो मात्रामा पूरातात्विक महत्वका स्थलहरुमा पनि क्षति पुगेको छ।

शनिबार गएको भूकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या देशभर अहिलेसम्म ५ हजार ६ सय नाघेको छ।

सरकारको पछिल्लो विवरण अनुसार बिहीबार दिउँसोसम्म ज्यान गुमाउनेहरुको संख्या ५ हजार ६ सय ३० पुगेको छ।

त्यस्तै उपचाररत घाइतेहरुको संख्या अहिले करिब ८ हजार पुगेको छ।हिजो घाइतेको उक्त संख्या १० हजार भन्दा बढी भए पनि त्यसमध्य धेरै उपचार भएर घर फर्किसकेका छन्।

उद्धार कार्य जारी रहँदा मर्नेहरुको संख्या केही बढ्नसक्ने प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्।मानवीय क्षति सबैभन्दा बढी, सिन्धुपाल्चोक जिल्लामा भएको छ।

गुनासो

त्यहाँ मर्नेहरुको संख्या झन्डै १७ सय पुगेको छ भने काठमाडौंमा झन्डै ११ पुगेको छ।भूकम्पको केन्द्रविन्दु बनेको गोरखा जिल्लामा भने मर्नेहरुको संख्या ४ सय नाघेको छ।

ती क्षेत्रमा हेलिकप्टरबाट उद्वार जारी रहेको छ।देशभरका धेरै ठाउँमा राहत र उद्वार जारी रहे पनि प्रभावित क्षेत्रका धेरै मानिसहरुले अझै आफूले केही पाउन नसकेको गुनासो गरेका छन्।

काठमाडौंमा भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुमा अझै राहतको कार्यक्रमलाई तीब्र बनाइने बताइएको छ।

आग्रह

काठमाडौंपछि धादिङ र नुवाकोटमा ज्यान गुमाउनेहरुको संख्या पाँचसय भन्दा बढी पुगेको छ।

विभिन्न देशबाट राहतका थुप्रै सामग्री ल्याए पनि त्यसको वितरणमा समस्या हुँदा धेरैले राहतको महसुस गर्न नसकेको सर्वसाधारणको गुनासो छ।

धेरै ठाउँमा उद्धार जारी रहँदा विस्तारै रोग फैलने डर भएको भन्दै जनस्वास्थ्यका जानकारहरुले सरसफाइमा धेरै ध्यान दिन आग्रह गरेका छन्।