पुरातात्विक सम्पदाको भग्नावशेष हटाउने तयारी

  • 1 मे 2015
तस्वीर कपीराइट AP
Image caption शनिबार गएको भुकम्पपछि काठमाण्डू उपत्यकाको ऐतिहासिक धरहरा र अन्य महत्वपूर्ण प्राचीन स्मारकहरु भत्किएका थिए

शनिबार गएको विनाशकारी भूकम्पका कारण राजधानी काठमाण्डूमा ध्वस्त भएका पुरातात्विक सम्पदाहरुको भग्नावशेष हटाउने काम शुक्रबारदेखि शुरु गरिने अधिकारीहरुले बताएका छन्।

हनुमान ढोका दरबार स्क्वायर र धरहरा क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरी लगाएर भग्नावशेष हटाइने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बीबीसीलाई बताए।

त्यसबाहेक भूकम्पका कारण बढी प्रभावित सिन्धुपाल्चोक लगायत जिल्लाका दुर्गम क्षेत्रहरुमा राहत पुर्याउने कार्यमा केन्द्रित हुने उनको भनाई थियो।

अधिकारीहरुका अनुसार महाभूकम्पमा परि मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ भने घाईते हुनेहरुको संख्या १३ हजार नाघेको छ।

उद्धार

भग्नावशेषमा शवहरु फेला पर्ने क्रम जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने ढकालले बताए।

भुकम्पको ठूलो क्षति ब्यहोरेको काठमाण्डूका विभिन्न भग्नावशेषबाट बिहिबार कम्तीमा दुई जनाको जीवितै उद्धार गरिएको थियो।

खोजी तथा उद्धारका काम काठमाण्डूको बालाजु गोंगबु क्षेत्र र पुराना मठमन्दिर तथा घरहरु र भत्किएका स्थानहरुमा केन्द्रित रहने ढकालले बताए।

उनले भने, “शुक्रबारदेखि नेपाली सेनाको नेतृत्वमा बनेको हाम्रै जनशक्तिले विशेष गरी गोंगबु क्षेत्र र पुरातात्विक महत्वका क्षेत्रहरुमा भग्नावशेष हटाउने काम गर्दैछ।”

Image caption दुर्गम स्थानमा अझै राहत पुग्न नसकेको पीडितहरुले गुनासो गरेका छन्

गृहमन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा अझै पनि उद्धार तथा राहतको काम जरुरी भएकोले त्यसतर्फ शुक्रबार पनि उद्धार टोलीहरु जाँदैछन्।

सहायता

उद्धार कार्यमा नेपालका एक लाख बढी सुरक्षाकर्मी र २० देशका टोलीहरु सहभागी छन्।

प्रभावितहरुका निम्ति अन्तर्राष्ट्रिय सहयोगहरु आउने क्रम जारी रहेको अधिकारीहरुले बताएका छन्।

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेपले गत ४८ घन्टामा २९ मेट्रिक टन मानवीय सहायता आपूर्ति गरिएको जनाएको छ।

उक्त सहयोग भूकम्प प्रभावित क्षेत्रका १७ लाख बालबालिकाहरुको निम्ति पठाइएको र आउने दिनमा थप सहयोग आउने युनिसेफको भनाई छ।