भूकम्पले रुवाएको गोर्खाली मन

  • 2 मे 2015
Image caption भूकम्पले गाउँ सखाप पारेपछि अब वर्षामा कसरी वासको व्यवस्था गर्ने भन्ने चिन्ता बढेको छ।

गत शनिबार गएको विनाशकारी भूकम्पले धेरैको मनमा अनेक व्यथा भरेर गएको छ।

धेरैले परिवारका सदस्य गुमाएका छन्। लाखौं घरबारविहीन भएका छन्।

देशैभर भूकम्पले अनेक खाले दर्दनाक घटनाहरु भएका छन्।

मान्छेले जीवनभर नबिर्सने त्यस्ता धेरै वियोगका दृश्यहरु देखे।आफन्त गुमाउने, घाइते हुने र घरबारविहीन हुनेहरुको संख्या लाखौं नाघिसक्यो।

बिचल्ली

विनाशको यो क्रम अनुमानै गर्न नसक्ने छ। यो क्रम अझै रोकिएको छैन।

भूकम्पमा परी बांच्नेहरुले ठूलो डर र त्राससंगै भोग्नु परेको बिचल्ली कहालीलाग्दो छ।

त्यस्तो विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्लाको दृश्य झन् कहालीलाग्दो छ।

सदरमुकाम वरपरका अधिकांश घरहरु सग्ला छैनन्। सुत्केरी, बालबालिका र वृद्ध जो सुकै हुन्, खुल्ला चौरमा रात बिताउन बाध्य छन्।

वाध्यता

अन्नपात केही जोगाउन नसक्दा उनीहरु अहिले पूर्ण रुपमा अरुले पुर्याइदिएको राहतका सामान खाएर छाक टार्न वाध्य छन्।

गोरखा पल्साङका ५२ वर्षीय लोकबहादुर गुरुङ टोलाउन छोडेका छैनन्।

घरको कापमा पुरिएर मृत्यु भएकी गर्भवती भाई बुहारीको अन्तिम संस्कार सकाएर फर्केका उनले घरभित्र पुरिएका आफ्ना कैयौं सामान निकाल्न सकेका छैनन्।

निरन्तर दर्केको झरीले उनलाई अर्को कठिन परिस्थिति ल्याइदिएको छ। गोरखा सदरमुकाम नजिकको ‘होम स्टे’ को पहिचान बनाउदै गरेको उनको गाउँ अहिले उनीहरुकै लागि वास समेत बाँकी नराखी भत्किएको छ।

होम स्टेबाट मनग्ये कमाउने सपना बुन्दै ऋणमा घर सजाएका उनको, त्यो सपना भग्नावशेष बनेको घरभित्र पुरिसकेको छ।‘खोइ अब के गर्ने होला?’ आफैसंग प्रश्न गर्दे उनले भने, 'भएको सम्पती यही घर थियो। खेतबारी छैन। अब छोरा नातीलाई पाल्ने कसरी हो? घर बनाँउदाको ऋण कसरी तिर्ने खोई?’

पल्साङ गाउँको अग्ला पहराबाट हिमालका दृष्यहरु आँखै अगाडी ठोकिन्छ। प्रकृतिले त्यति धेरै सुन्दरता दिएकै गाउँलाई भूकम्पले तहसनहस बनायो।

विनाश

हिमाल हेरेर रमाउने गाउँलेका आँखाहरु भग्नावशेष हेरेर रसाएका छन्।

यो गाउँको विशेषता नै प्राकृतिक सुन्दरता हो। जहाँ अन्न त्यति फल्दैन।

पानीको खुबै दुःख छ।

'मर्ने मरे हामी मरेतुल्य भएका छौं,' सम्पूर्ण गाउँलेको पीडा एउटै छ। विनाशकारी भूकम्पले यहाँका २६ घर भताभुंग पारिदिएको छ।

Image caption धेरैजसो युवा वैदेशिक रोजगारीमा गएकाले अहिले गाउँमा वृद्धा र बालबालिकामात्रै देखिन्छन्।

बारीको पाटोमा आगो तापिरहेका थगबहादुर गुरुङको व्यथा पनि फरक छैन।

‘बनाएको नयाँ घरमा एकदिन पनि बस्न नपाउँदैं ध्वस्त भयो। यी यस्तो बारीको बास भएको छ। अव के गर्ने? के खाने?’ नियतिमाथि उनी आफैँ प्रश्न तेर्स्याउँछन्।

दुखबाट राहत पाउन पैसा कमाउन गएका छोरा विदेशमै छन्।

उनलाई चिन्ता नलिन उनले भनेका छन्।

तर गाउँ सखाप भएको भोगेका बाबुको मन मान्दैन।

उनले भने, ‘उसले चिन्ता नलिनु भनेको छ तर गाउँको यस्तो हविगत हेरेर कसरी मन थाम्नु। मर्ने मरिसके, उनीहरुले त शान्ति पाए। बाँचेका हामी मरे सरह भइरहेका छौं।'

पल्साङमात्रै होइन। छिमेकी गाउँ पीपलथोकको व्यथा पनि उत्तिनै छ।

गाउँका बासिन्दाहरु पर डाँडाको कुनामा देखिने बारपाक गाँउलाई हेर्दे भन्छन्, “त्यहाँ जति धनजनको क्षति यहाँ भएको छैन। दुःख भने बराबर नै हो।”

पिपलथोक माथिको आकाश हुँदै क्षण क्षणमा हेलिकोप्टर बारपाक गइरहेको हेर्नु उनीहरुको दिनचर्या बनेको छ।

दलितहरुको बाहुल्य रहेको यो गाउँमा रहेका ३० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

छेउको थुम्कोमा रहेको खुल्ला चौरमा गाउँलेहरुले दिन काटिरहेका छन्।

पीडा

युवाहरु शहर र विदेश पसेका कारण गाउँमा बुढापाका, महिला र बालबालिकाहरु बढी देखिन्छन्।

७६ वर्षीय मोतिलाल सुनारले आफूले कल्पनै नगरेको घटना भोग्नुपरेको पीडा सुनाए।

उनले भने, “यो जुनीमा कल्पना नगरेको कुरा भोग्नु पर्यो। अब बाँकी जीवन खुल्ला चौरमै बित्ला जस्तो छ। खोइ कसले बनाइदेला र हाम्रो घर?”

क्षतिको यो दृश्य गोरखामा मात्रै होइन। सरकारी तथ्यांक अनुसार नै भूकम्प पीडित क्षेत्रमा आंशिक र पूर्ण गरि करीब ३ लाख घरहरु भत्किएका छन्।

मानिसका पीडा एउटै छन्।

तर ती सबैको वाध्यता शोकलाई शक्तिमा बदलेर विस्तारै आफ्नो पहिलाकै दिनचर्यामा फर्कनुपर्ने देखिन्छ।