भूकम्पले सगरमाथा आरोहणमा पनि असर

  • 5 मे 2015
Image caption अघिल्लो वर्ष वैशाखको सुरुमा आएको हिमपहिरोले सगरमाथामा १६ जना मानिसको ज्यान गएको थियो।

भूकम्पसंगै सगरमाथामा हिमपहिरो गएपछि कतिपय आरोहीहरुले यो यामको आरोहण स्थगन गरेका छन्।

सगरमाथा चढ्न यसपटक अनुमति लिएका ४० वटाभन्दा बढी आरोहण दलमध्ये अधिकांश फर्किसकेको भएपनि त्यसबारे धेरैले आफूहरुलाई आधिकारिक जानकारी दिइ नसकेको अधिकारीहरुले बताएका छन्।

आरोहणका लागि बाटो बनाउन खटिने शेर्पाहरु अर्थात आइसफल डाक्टरले हिमपहिरोपछि बिग्रिएको बाटो तत्काल बनाउन अप्ठ्यारो रहेको भन्दै यो याममा आरोहण हुन नसक्ने निष्कर्षसमेत निकालेको बताइएको छ।

गत वर्ष हिमपहिरोपछि स्थगित सगरमाथा आरोहण यसपटक हुने अपेक्षासहित तीनसयभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीहरु सगरमाथा आधार शिविर पुगेका थिए।

सम्भावना

तर बैशाख १२ को भूकम्पसंगै गएको हिमपहिरोमा १८ जना आरोही तथा सहयोगीहरुको ज्यान गएपछि यसपटक पनि आरोहणको सम्भावना टर्दै गएको देखिएको छ।

आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका अधिकांश फर्किसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपिन्द्र राई सोलखुम्बुबाट टेलिफोनमा बताए।

उनले भने, "धेरै आरोहणमा आउनुभएको समूहहरु फर्किसक्नु भएको छ। माथि १/२ वटा सानो समूह हुनुहुन्छ कि जस्तो लाग्छ तर ठ्याक्कै अहिले हामीसँग सम्पर्कमा हुनुहन्न।"

उक्त समितिका, बाटो बनाउने शेर्पा अर्थात आइसफल डाक्टरले पनि तत्काल बाटो बनाउन नसकिने भन्दै यो याममा आरोहण सम्भव नरहेको निचोड निकालेको राईले बताए।

तर यसबारे आधिकारिक जानकारी नआएको र केही आरोहण दल अझै चढ्न इच्छुक रहेको भन्दै पर्यटन विभागले खतरा कम भए आरोहणका लागि सरकारले सहजीकरण गर्ने जनाएको छ।

त्रस्त

विभागका महानिर्देशक तुलसी गौतमले भने, "यदि खतरा धेरै छैन भने भूकम्प गएकै कारण रोक्नुपर्दैन भनेर हामीले स्पष्ट रुपमा भनिरहेका छौं।"

तर बीबीसीले कुरा गरेका करिब आधा दर्जन जति एजेन्सीहरुले हिमपहिरोमा आफूहरुले ठूलो भौतिक र मानवीय क्षति व्योहर्नुपरेको भन्दै यसपटक आरोहण नगर्ने जनाएका छन्।

त्यस्तैमध्येको एक समीट नेपाल ट्रेकिंग प्रालिका महाप्रबन्धक शिवराज थापाले भने, "आधारशिविरको केही पनि संरचनाहरु रहेन, शेर्पाहरु पनि घाइते भएकोले उनीहरुलाई उद्धार गर्नुपर्ने भएपछि जनशक्ति पनि भएन अनि आरोहीहरु पनि त्रस्त भए।"

लगातार दोस्रो वर्ष पनि आरोहण अवरुद्ध हुने देखिएपछि, आरोहणको आम्दानीमा आश्रित सहयोगी तथा पथप्रदर्शकहरुले आफूहरुलाई नियमित गुजारा गर्न समेत कठिनाइ हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।