भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झना

  • 7 मे 2015
तस्वीर कपीराइट AP
Image caption भुकम्प पछि पहिलो पटक बसेको संसद बैठकले शोक प्रस्ताव पारित गरेको थियो

भूकम्पको १३ औं दिन ज्यान गुमाउनेहरुको सम्झनामा काठमाण्डूमा अन्तरधार्मिक संस्थाहरुले प्रार्थना सभा आयोजना गरे।

उक्त कार्यक्रममा भेला भएका विभिन्न धर्मका प्रतिनिधिहरुले राष्ट्रिय विपत्तीका बेला सबै जना, धर्म तथा सम्प्रदायभन्दा माथि उठ्नुपर्ने साझा धारणा व्यक्त गरेका थिए।

“यो प्राकृतिक विनाशको क्रममा मर्ने नेपाली नै हो र मानव नै हो। यसमा कुनै धार्मिक भेद छैन,” हिन्दू धर्मका एक ज्ञाता तथा अन्तरधार्मिक अभियानका अध्यक्ष चिन्तामणि योगीले बताए।

प्रार्थना सभामा नेपालमा मानिने प्राय: सबै धर्मका प्रतिनिधिहरु सामेल थिए।

शोक प्रस्ताव

भूकम्पपछि बिहीबार पहिलोपल्ट बसेको संसदको बैठकले जनधनको ठूलो क्षति भएकोभन्दै शोक प्रस्ताव पारित गरेको छ।

भूकम्पबाट प्रभावित मानिसहरुका निम्ति सम्बोधन गर्ने किसिमको संकल्प प्रस्ताव प्रस्तुत गरिने चर्चा भएपनि बिहीबारको बैठक केवल शोक प्रस्ताव पारित गर्नमै केन्द्रत रह्यो।

सभामुख सुवास नेम्वाङ्गले प्रस्तुत गरेको उक्त विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।

“उक्त विनाशकारी भूकम्पमा परी निधन भएकाहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरुप्रति हार्दिक सहानुभूति तथा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ भन्ने उक्त शोक प्रस्तावलाई पारित गरिदिनु हुन अनुरोध गर्दछु। र यो प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु,” सभामुख नेम्वाङ्गले बताए।

बैठक

सो प्रस्ताव पारित भएलगत्तै सभामुखले संसदको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित गरेका छन्।

त्यस्तै संविधानसभाको बैठक जेठ १ गतेका लागि डाकिएको छ।

प्रमुख दलहरुमाझ भूकम्प पीडितका निम्ति आवश्यक राहत र पुनर्स्थापनाको प्याकेजबारे छलफल भइरहेको र संसदमा छिट्टै प्रस्तुत गरिने बताउँदै आएका छन्।

पछिल्लो आँकडा अनुसार भूकम्पमा परी मर्नेहरुको संख्या सात हजार आठ सय नाघेको छ, जसमध्ये ६७ जना विदेशी रहेको बताइएको छ।

पन्ध्र हजार भन्दा धेरै घाइते भएका अधिकारीहरुले जनाएका छन्।