भूकम्प: ७ सय बढी स्वास्थ्यसंस्थामा क्षति

  • 8 मे 2015
तस्वीर कपीराइट Reuters
Image caption भूकम्पका कारण स्वास्थ्य संस्थाहरु ध्वस्त भएपछि बिरामीको उपचारमा कठिनाइ भएको छ

भूकम्पका कारण १४ जिल्लामा अढाई सयभन्दा बढी स्वास्थ्य संस्थाहरुमा पूर्ण रुपमा र साढे चार सयभन्दा बढीमा आंशिक क्षति पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल अस्थायी टहरा वा पालमा राखेर सेवा सञ्चालन गरिएको भए पनि तीन महिना भित्रमा तयारी अवस्थाका सामानहरु जडान गरेर घरहरु बनाई त्यहींबाट स्वास्थ्य सेवा दिइने बताइएको छ।

आँकडा

भूकम्पका कारण क्षति पुगेका स्वास्थ्य संस्थाहरुमा अस्थायी रुपमा पाल टाँगेर घाइते तथा बिरामीहरुको उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर ठूला अस्पतालहरुमा तुलनात्मक रुपमा कम क्षति भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भने, “पूर्ण रुपमा क्षति पुगेको स्वास्थ्य संस्थाहरु दुई सय ६० वटा छन् भने जिल्लामा ६ वटा निजी अस्पताहरुको पनि त्यस्तै अवस्था छ। त्यसै गरी चार सय ५५ स्वास्थ्य संस्थाहरुमा आंशिक क्षति पुगेको छ। थप सातवटा निजी अस्पतालको हालत पनि त्यस्तै छ। यो १२ वटा जिल्लाको आंकडा हो। ”

वर्षायाममा सकेसम्म व्यवस्थित घरहरुबाटै स्वास्थ्य संस्थाहरु संचालन गर्ने गरी तीन महिनाभित्र भौतिक संरचनाहरुको निर्माण गरीने श्रेष्ठले बताए।

क्षतिग्रस्त

यद्यपि कतिपय जिल्ला अस्पतालहरु समेत ध्वस्त भएकाले घर भाडामा लिएर समेत तिनको संचालनको व्यवस्था मिलाइने उनको भनाइ छ।

सचिव श्रेष्ठले भने,“नमूना घरहरुको नक्साङ्कन गर्दैछौं। तत्काललाई स्वास्थ्य चौकीहरु यस्तो बनाउने, जिल्ला अस्पतालहरु यस्तो बनाउने भनेर काम गर्दैछौं र तयारी सामानहरु प्रयोग गरेर त्यस्ता घरहरु बनाउन प्रयास गर्छौं। तीन महिनाभित्रमा काम सक्ने योजना छ। ठूला अस्पतालमा जिल्लाका चारवटा अस्पतालहरु पूर्ण रुपमा क्षतिग्रस्त छन्। तत्काललाई भाडामा लिएर पनि संचालन गर्छौं”।

स्वास्थ्य संस्थाका उपकरण तथा औषधीहरु के कति नष्ट भए भन्ने विवरण नआइसकेकोले क्षतिको वास्तविक विवरण भने तयार नभएको उनको भनाई छ।

काठमाण्डूको वीर अस्पताल लगायतका ठूला सरकारी अस्पतालहरुमा समेत क्षति पुगेको विवरण छ।

पूर्ण क्षति भएका ठूला अस्पताल निर्माणको लागि भने आगामी आर्थिक वर्षमा बोलपत्र आह्वान गरेर निर्माण सुरु गरिने बताइएको छ।