ब्रिटेनमा कन्जरभेटिव् पार्टी विजयी

  • 8 मे 2015
डेभिड क्यामरन तस्वीर कपीराइट AFP
Image caption कन्जरभेटिभ पार्टीका नेता डेभिड क्यामरनले अरु पाँच वर्ष सरकार चलाउने छन्

मत गणनाका पछिल्ला परिणामहरु आउँदै गर्दा डेभिड क्यामरन नै पुन: प्रधानमन्त्री हुन सक्ने स्पष्ट देखिएको थियो।

मतगणना जारी रहँदा प्रमुख प्रसारण संस्थाहरुले गरेको मतदाता सर्वेक्षणले क्यामरन र उनको दल कन्जरभेटिभ् पार्टी स्पष्ट रुपमा विजयतर्फ अघि बढिरहेको देखाएका थिए।

क्यामरनले शुक्रबार दिउँसो ब्रिटिश महारानी एलिजावेथ द्वितीयलाई भेटेर आम चुनावमा आफ्नो पार्टी विजयी भएको बताएका छन्।

६५० स्थानका लागि भएको चुनावमा ३२६ स्थानमा विजयी भएकाले अब कन्जर्भेटिभ पार्टी एक्लैले सरकार गठन गर्न सक्नेछ।

मत सर्वेक्षण

मतदातामाझ गरिएको सर्वेक्षणले स्कटल्याण्डमा स्वतन्त्रताको पक्षधर स्कटिश न्यासनल पार्टी अत्याधिक मतले विजयी हुने भविष्यवाणी गरेका थिए।

ब्रिटेनको आम चुनावपछि मतगणना अन्तिम चरणमा छ, तर बीबीसी र अन्य प्रसारण संस्थाहरुले गराएका सर्वेक्षणले कन्जरभेटिभहरु संसदमा ३ सय भन्दा बढी सिटको नजिक अर्थात स्पष्ट बहुमत नजिकै पुगेको आंकलन गरेका थिए।

तर मुख्य विपक्षी लेबर पार्टीका प्रवक्ताले मत सर्वेक्षणको परिणाम अविश्वसनीय भएको र त्यो चुनाव प्रचारप्रसारका बेला गरिएका सर्वेक्षणका प्रमुख दलहरुबीच तीव्र प्रतिस्पर्धाको संकेत गर्ने परिणामसँग नमिल्ने देखिएको बताए।

प्रारम्भिक परिणामहरुमा कन्जरभेटिभहरुसँग गठबन्धनमा रहेका लिवेरल डेमोक्र्याटहरुले नराम्रो पराजय भोगिरहेका देखिएको थियो।

लिवरल डेमोक्र्याट नेता निक क्लेगले आफ्नो पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्।

राजीनामा

मुख्य विपक्षी दल लेबरका नेता एड मिलिव्याण्डले पनि आफ्नो पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्।

तर उनले, उनकै शब्दमा, श्रमजीवी वर्गको हितकालागि आफुले काम गरिनै रहने बताए।

स्कटल्याण्डमा स्वतन्त्रताको पक्षधर स्कटिश न्यासनल पार्टीले पनि निकै राम्रो प्रदर्शन गरेको गरेको छ।

प्रमुख ब्रिटिश प्रसारण संस्थाहरुले गरेको सर्वेक्षणले सो दलले स्कटल्याण्डमा लेबरहरुलाई पछार्दै ५९ मध्ये ५८ सिटमा विजय हासिल गर्ने देखाएको थियो।

आठ महिनाअघि जनमत संग्रहमा स्कटल्याण्डले संयुक्त अधिराज्य कै हिस्सा भइरहने पक्षमा मतदान गरेको थियो।