'भूकम्प पिडित बालबालिका जोखिममा'

  • 10 मे 2015
Image caption विद्यालयहरु भत्किएका कारण फुर्सदिला बनेका बालबालिकाहरु आपराधिक समूहको प्रलोभनमा पर्ने सम्भावना बढेको छ

केन्द्रिय बाल कल्याण समितिका एक अधिकारीले भूकम्प प्रभावित क्षेत्रका बालबालिका मानव ओसार पसार गर्ने गिरोहको फन्दामा पर्न सक्ने चेतावनी दिएका छन्।

भूकम्पका कारण विभिन्न जिल्लामा धनजनको अत्याधिक क्षति र अभिभावकहरु समेत बिचल्लीमा परेको अवस्थाको मौका छोपी अनेकौँ आश्वासन दिएर बालबालिकालाई लैजाने क्रम सुरु भएको देखिएको भन्दै उनले त्यस्तो चेतावनी दिएका हुन्।

सम्भावना

भूकम्पबाट अत्यधिक प्रभावित जिल्ला मध्येको एक, धादिङबाट बिहिबार ४५ जना बालबालिकाहरुलाई नि:शुल्क पठन पाठनको व्यवस्था मिलाई दिने भन्दै राजधानीको एउटा निजी विद्यालयले कुनै प्रक्रिया नै पुरा नगरी लगेपछि बालअधिकारकर्मी झस्किएका थिए।

ति बालबालिकालाई हाल आफ्नो संरक्षणमा राखिएको र उनीहरुलाई पुन: अभिभावकको जिम्मा लगाइने महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय मातहतको सरकारी निकाय, केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए।

सामान्यतया, कुनै पनि बालबालिकाको जिम्मा लिदा स्थानीय प्रशासनको रोहबरमा कानूनी प्रक्रिया पुर्याएर मात्रै लिनु पर्ने हुन्छ।

तर यसो नगरिदा बालबालिकाको कतै अभिलेख नरहने हुनाले उनीहरु उच्च जोखिमम पर्न सक्ने धितालले बताए।

उनले भने-“अहिले बालबालिकाहरुको ओसारपसार हुन सक्ने धेरै सम्भावना छ। त्यो बालश्रम, यौन शोषण, धार्मिक प्रयोजन वा आतंककारी गतिविधिको लागि हुन सक्छ। त्यसैले उनीहरुलाई सही प्रक्रियाबाट मात्रै जान दिनु पर्ने हुन्छ।"

त्यसो नगर्ने हो भने त जसले पनि बच्चा टिपेर जहाँ पनि लान सक्ने भयो।”

व्यवस्थापन

प्रधानमन्त्री सुशील कोइरालाले हालको भूकम्पमा अभिभावक गुमाएका असाहाय बालबालिकालाई राज्यले शिक्षा-दिक्षा र पालन-पोषणको जिम्मा लिने, शुक्रबार संसदलाई गरेको सम्बोधनमा उल्लेख गरेका छन्।

त्यस्ता बालबालिकाको सुरक्षाको लागि काम भइरहेको निर्देशक धितालको भनाइ छ।

उनले भने- “त्यस्ता बालबालिकाहरु छन् भने जिल्ला बाल कल्याण समिति, महिला बालबालिका कार्यालयमा सम्पर्क राख्नुस्। उनीहरुलाई तत्काल अन्तरिम बासस्थान भनिने ट्रान्जिट सेल्टरहरुमा संरक्षित र सुरक्षित राखिन्छ।"

त्यहाँबाट सबै लेखाजोखा भएपछि कसरी व्यवस्थापन गर्ने भन्ने काम हुन्छ।”

खास गरी यस्तै बिपदकै समय, आपराधिक मनोवृत्तिका मानिसहरुका लागि मानव ओसार पसार गर्ने उपयुक्त अवसर हुने गरेको अन्तराष्ट्रिय अनुभव रहेको बताउदै बालअधिकारकर्मीहरुले बालबालिकाको सुरक्षाबारे चिन्ता प्रकट गरेका छन्।