जोखिमपूर्ण भवनमा ‘रेट्रोफीटीङ’ गर्न सुझाव

  • 9 मे 2015
भग्नावशेष
Image caption केहि विद्यालयहरुमा थालिएको प्रवलीकरण प्रविधि समुदायहरुमा पनि लागू गर्न सकिने जानकारहरुको भनाइ छ

भूकम्पका कारण देशभरमा थुप्रै विद्यालयहरुमा नोक्सानी पुगेपनि ‘रेट्रोफीटीङ’ अर्थात संरचनाहरुलाई प्रवलीकरण गरेर भूकम्प प्रतिरोधक बनाइएका विद्यालयहरुमा भने क्षति नपुगेको देखिएको छ।

ठूलै संख्यामा विद्यार्थीहरु रहने स्थान भएकाले नमुनाका रुपमा सुरु गरिएको ‘रेट्रोफीटीङ’ प्रविधि भूकम्पका बेला विद्यार्थीहरुको ज्यान जोगाउन मात्र नभई हालै आएको जस्तो ठूलो भूकम्पका बेला सर्वसाधारणलाई आश्रय स्थल समेत बनेको छ।

ललितपुरको त्रिपद्म विद्याश्रमको निरिक्षण गर्न आएका भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालका पदाधिकारी ‘रेट्रोफीटीङ’ प्रविधि अपनाएर बनाइएका त्यस्तै २५० भन्दा वढी विद्यालयहरु पुर्णत सुरक्षित भएकोमा खुसी छन्।

भूकम्प प्रविधि

पहिले बनिसकेको विद्यालयलाई डन्डी थपेर विशेष रुपले सुरक्षित पारिने यो प्रविधि एनसेटले १८ वर्ष अगाडि सुरु गरेको थियो।

काठमाण्डू उपत्यका र कैयौं अरु जिल्लाका सामुदायिक विद्यालयमा यो प्रविधि अपनाइएको थियो।

एनसेट अन्तर्गतको विद्यालय भूकम्पीय सुरक्षा कार्यक्रमका इन्जिनियर निराकार जोशीका अनुसार यो प्रविधि विद्यालयहरुमा नमूना कार्यक्रमको रुपमा शुरु गरिएको हो।

जोशी भन्छन्, “अरु समुदायलाई पनि ‘रेट्रोफीटीङ’ प्रविधि कसरी अपनाउने भन्ने सिकाउन यो कार्यक्रम विद्यालयमा सुरु गरिएको हो।"

जोखिम

अहिले पनि देशभर रहेका ३० हजार भन्दा बढी विद्यालयका ८८ हजार कक्षा कोठाहरुमा भूकम्पीय जोखिम रहेको बताइन्छ।

दुई साता अगाडि आएको भूकम्पले १४ जिल्लाका १ हजार विद्यालय पुर्ण रुपमा नष्ट भएको र ४ हजार भन्दा बढी विद्यालयमा आंशिक रुपमा क्षती पुगेको शिक्षा मन्त्रालयले जनाएको छ।

एनसेटले जनाए अनुसार भूकम्प थेग्न नसक्ने अन्य थुप्रै भवनहरुमा यो प्रविधि अपनाउनु पर्ने देखिन्छ।

इन्जिनियर जोशी भन्छन्, "यदि मान्छेले आफ्नो सुरक्षा खोज्छन् भने जोखिमपूर्ण भवनहरुमा रेट्रोफीट गर्नु अनिवार्य देखिन्छ।"

एनसेटको सो प्रविधिलाई नेपाल सरकारले २०६८ सालमा नै ग्रहण गरेको थियो।

अहिले पहिलो चरणमा काठमान्डू उपत्यकाका ९ सय विद्यालयमा रेट्रोफीटीङ गर्ने योजना बनिसकेको बताइएको छ।