वर्षायाम अघि राहत पुर्याउन सकिन्छ: सेना

  • 11 मे 2015
तस्वीर कपीराइट AFP
Image caption तत्कालको राहत वितरणमा ५० अर्ब रुपियाँ चाहिने सरकारले बताएको छ

सरकार र दाताहरुले अत्यावश्यक राहत सामाग्री जुटाइदिए वर्षायाम सुरु हुनु अघि नै सबै भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री पठाउन सकिने नेपाली सेनाका एक जना उच्च अधिकारीले बताएका छन्।

भूँइचालोका कारण कतिपय स्थानमा सडक मार्ग अवरुद्ध भएको र पहिरो समेत गैरहेका कारण राहत सामाग्रीको ढुवानी चूनौतीपूर्ण हुनसक्ने राष्ट्रसंघ सहितका निकायले बताउँदै आएका थिए।

तर भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्याउने कामको नेतृत्व गरिरहेका सैनिक अधिकारीले राहत सामाग्री जुटाउन सकिए त्यसको ढुवानीमा समस्या नहुने बताएका हुन्।

हाल भूकम्प प्रभावित लगभग साढे पाँच सय स्थानमा खटिरहेको सेनाले आफ्नो पछिल्लो खोजी तथा उद्धार हिमपहिरोका कारण लगभग ध्वस्त भएको लाङटाङ उपत्यकामा केन्द्रित रहेको जनाएको छ।

तयारी

आत्यावश्यक राहत सामाग्रीको जोहो गर्न आवश्यक रकम जुटाउन अन्तरराष्ट्रीय अव्हान गरेका सरकार र संयुक्त राष्ट्र संघ दुवैले अपेक्षा गरे अनुसार सहयोग प्राप्त नभैरहेको बताइरहँदा नेपाली सेनाको पछिल्लो भनाई आएको हो।

भौगोलिक विकटता र कतिपय प्रभावित क्षेत्रमा निरन्तर पहिरो गरैहेकाले अर्को महिनाबाट झरी सुरु हुन अघि वर्षायाम भरी थेग्ने गरी खाधान्न र आवास जुटाउने चूनौति अधिकारीहरु सामु छ।

उद्धार तथा राहतको समन्वय गरिरहेका नेपाली सेनाका उपरथी विनोज बस्न्यातले राहत सामाग्री संकलन भए वर्षायाम अघि सबै भूकम्प प्रभावितसम्म पुर्याउन सकिने बीबीसीलाई बताए।

उनले भने, “हामीसँग भएका श्रोत साधानले नै वर्षायाम अघि नै राहत सामाग्रीहरु सबै ठाउँमा पुर्याउन सकिन्छ तर मूख्य कुरा, चाहिने जति खाधान्न र आवासका सामानहरु हामीसँग आइपुग्नु पर्यो।”

भूकम्प प्रभावितका लागी तत्कालीक राहत पुर्याउन ४२ अर्ब रुपियाँ सहयोग उपलब्ध गराउन अव्हान गरेको संयुक्त राष्ट्र संघले अहिलेसम्म त्यसको करिव १० प्रतिशत मात्रै जुटाउन सकेको छ।

त्यसै गरी करिव ५० अर्ब रुपियाँ चाहिने बताएको सरकारको राहत कोषमा १ अर्ब ३६ करोड रुपियाँमात्र सकंलन भएको छ।

यस्तोमा राहत सामाग्री जुट्न सके आफूसँग भएका करिव एक दर्जन हेलिकप्टर बाहेक उद्धारमा सघाउन आएका भारत, चीन र अमेरिकाका हेलिकप्टर प्रयोग गरी समयमै वर्षायाम अघि नै राहत सामाग्री पुर्याउन सकिने सैनिक अधिकारीहरुको निचोड छ।

पहुँच

मंगलबारसम्म ५ सय ५० भूकम्प प्रभावित स्थानमा पुगिसेकेको सेनाले केही दिन भित्रै भूइचालोबाट नराम्ररी प्रभावित १४ वटै जिल्लाका प्रत्येक गाविससम्म आफ्नो पहुँच पुर्याउने बताएको छ।

त्यसले क्षतिको मुल्यांकन गर्न र राहत वितरण केन्द्रहरु स्थापना गर्न सहयोग पुग्ने उसको भनाई छ।

हाल सेनाले बैशाख १२ गतेको भूँइचालोपछि आएको भिषण हिमपहिरोका कारण झन्डै ३० फिट माटोमा पुरिएको लाङटाङ क्षेत्रमा आफ्नो खोज तथा उद्दार केन्द्रीत गरेको छ।

उक्त क्षेत्र नजिकैको केन्जिङ्गमा अलपत्र परेका झन्डै डेढ सय जनाको उद्दार अघि बढाइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रमुख सेनानी अनूपजंग थापाले बताए।

उनले भने, “रसुवाका प्रमुख जिल्ला अधिकारीको निर्णय र केन्जिङ्का जनताहरुको इच्छा अनुसार हामीले उनीहरुलाई सुरक्षित स्थानमा ल्याउन थालेका छौँ, त्यहाँ १ सय ४५ जना रहेकोमा मलाई थाहा भएसम्म आज हाम्रा फौज सहित ४६ जनामात्र बाँकी छन्।”

लाङटाङमा पहिरोबाट खनेर निकालिएका १ सय १८ वटा शव मध्ये दुई वटालाई पुन: पहिरोले बगाएको र त्यहाँ अझ कति वेपत्ता छन् भन्ने यकिन जानकारी नरहेको सेनाले जनाएको छ।