पहिरोको 'जोखिम कम गर्न' सरकारी कार्ययोजना

तस्बिर स्रोत, Dhurba Dangal
भूकम्पका कारण कतिपय ठाउँमा धाजा फाटेका कारण पहिरोको जोखिम बढेको बताइएको छ
भूकम्पका कारण कतिपय ठाउँहरुमा यसपालिको वर्षामा पहिरो जाने खतरा बढेको भन्ने खबरहरुमाझ सरकारले त्यसको रोकथाम तथा मानिसहरुलाई सुरक्षित ठाउँमा सार्नका लागि कार्ययोजना तयार गरेको जनाएको छ।
हाल सुख्खा पहिरो गइरहेको र वर्षामा पनि पहिरो जान सक्ने ठाउँहरुको अध्ययन गरी क्षति न्यूनिकरणको लागि द्रुत गतिमा उक्त कार्ययोजना लागू गरिने बताइएको छ।
पहिचान
दुई साताअघि गएको भूकम्पका कारण कतिपय ठाउँमा अहिले पनि सुख्खा पहिरो गइरहेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागले जनाएको छ।
जमिनमा धाँजा फाटेकोले कतिपय ठाउँमा वर्षायाममा पहिरोको जोखिम बढ्न सक्ने विभागले आँकलन गरेको छ।
सम्भावित क्षतिलाई रोक्न मंगलबार कार्ययोजनालाई अन्तिम रुप दिइने र दुई तीन दिनमै लागू गरिने विभागका महानिर्देशक रामानन्दप्रसाद यादवले बताए।
कार्ययोजनाबारे उनले भने, “जुन जुन ठाउँमा पहिरो झन आउने सम्भावना छ त्यो पहिचान गरेर तुरुन्तै फिल्डमा खट्छौं। पूर्व तयारीका कामहरु गर्छौं। भूकम्प आउनु पहिलेको र पछिको भूउपग्रह दृश्य पनि तयार गर्छौं। कुन कुन ठाउँमा त्यहाँका जनतालाई वर्षाभन्दा पहिले नै जानकारी दिनेछौं। यसको लाग आवश्यक बजेट पनि हामी सरकारसँग माग्छौं।”
नियन्त्रण
सरकारले भूकम्पका कारण अत्याधिक क्षति भइ संकटग्रस्त क्षेत्र घोषणा गरेका १४ वटा जिल्लामा पहिले काम सुरु गरिने बताइएको छ।
सम्भावित पहिरो र त्यसबाट हुनसक्ने धनजनको क्षतिलाई रोक्न पूर्व तयारीका कामहरु पनि जारी राखिने महानिर्देशक यादवले बताए।
“जनतालाई अर्को सुरक्षित ठाउँमा सार्न सिफारिस गर्छौं। न्यनतम राहत र आवश्यक वस्तुहरुको पनि व्यवस्था गर्छौं। भोलि सानोतिनो पहिरो गइहाल्यो भने नियन्त्रणको लागि चाहिने बाँस, बोरा, तार, जालीहरुको पनि व्यवस्था गर्छौं।”
भूकम्पले अहिले पनि कतिपय ठाउँहरुमा पहिरो गइरहेको भए पनि कहाँ के कति पहिरो गयो भन्ने विवरण नआइसकेको र यस विषयमा अध्ययन भइरहेकोले जेठको दोस्रो साताभित्रमा उक्त विवरण सार्वजनिक गरीने विभागले जनाएको छ।