ओलान्द र कास्ट्रोबीच हवानामा भेट

  • 12 मे 2015
राउल र ओलान्द तस्वीर कपीराइट AFP
Image caption फ्रान्सेली राष्ट्रपति ओलान्दले आफ्ना वर्तमान क्युबाली समकक्षी राउलसँग भेटेका छन्

फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्द सन् १८९८ पछि क्युबाको भ्रमण गर्ने पहिलो फ्रान्सेली राष्ट्रपति भएका छन्।

उनी नै क्युबा र वासिङटनबीचको चिसो सम्बन्ध सुधार हुने संकेत देखिएपछि क्युबा भ्रमण गर्ने पहिलो पश्चिमेली देशका नेता हुन्।

ऐतिहाँसिक भेटको क्रममा ओलान्द र कास्ट्रोले एक घन्टा लामो कुराकानी गरेको लिबेरेसनका पत्रकार लाउरे ब्रेटनले उल्लेख गरेका छन्।

ती पत्रकारले दुई नेताको भेटपछि फ्रान्सेली भाषामा एक ट्वीट सन्देश लेखेका थिए।

नाकाबन्दी

“इतिहास बनाउने व्यक्ति स्वयं मेरा अगाडि थिए,” ओलान्दले उनलाई भने।

सोमबार हवाना विश्वविद्यालयमा बोल्दै ओलान्दले क्युबाको विकासलाई अवरुद्ध पार्ने सबै कदमहरुलाई उल्ट्याउन सकिने बताएका थिए।

उनले अमेरिकाले क्युबामाथि लगाएको व्यापार नाकाबन्दीलाई इङ्गित गर्दै थिए।

त्यो हवाना र वासिङटनबीच हालैका महिनाहरुमा सम्बन्ध सुधार भएपनि हटिसकेको छैन।

स्थानीय समय अनुसार सोमबार साँझ फ्रान्सेली राष्ट्रपतिले आफ्ना वर्तमान क्युबाली समकक्षी राउलसँग भेट्ने कार्यक्रम थियो। राउल फिडेल कास्ट्रोका भाइ हुन्।

घोषणा

हवाना भ्रमणको क्रममा ओलान्दले क्युबाली विद्यार्थीहरुलाई फ्रान्समा अध्ययन गर्नको लागि दिइने छात्रवृत्तिको संख्या दोब्बर बनाउने योजना घोषणा गरेका छन्।

हवानास्थित बीबीसीका विल ग्रान्ट भन्छन् फ्रान्सले क्युबासँग तुलनात्मक रुपमा राम्रो सम्वन्ध कायम गर्दै आएको थियो।

हवानामा अवतरण लगत्तैको क्षण ओलान्दले आफू निकै भावविह्वल भएको बताएका थिए।

अठासी वर्षिय फिडेल कास्ट्रोले विरलै कुनै विदेशी आगन्तुकलाई भेट्छन्।

यसैबीच ह्वाइट हाउसमा राष्ट्रपति ओबामाले आउने वर्ष आफैं क्युबा भ्रमणमा जान सक्ने सम्भावनालाई अस्वीकार गरेनन्।