बुधबार बिहानदेखि उद्धार शुरु

  • 12 मे 2015
भूकम्प
Image caption पछिल्लो शक्तिशाली भूकम्प पछि मानिसहरुमा त्रास फैलिएको थियो

नेपालमा मंगलबार दिउँसो गएको शक्तिशाली भुइँचालोमा परी हराइरहेका तथा घाइतेहरुको बुधबार बिहानैदेखि खोजी तथा उद्धार कार्य शुरु गरिएको अधिकारीहरुले जनाएका छन्।

मंगलबार दिउँसो गएको शक्तिशाली भुइँचालोमा परी कम्तीमा ६५ जनाको ज्यान गएको तथा झण्डै दुईहजार जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बीबीसीलाई बताए।

दोलखामा ३६ जना, सिन्धुपाल्चोकमा १० जना तथा काठमाण्डौमा ५ जनाको ज्यान गएको पनि उनले बताए।

हताहतिको संख्या अरु बढ्न सक्ने आशंका गरिएको छ।

पराकम्पन

गत बैशाख १२ गते गएको विध्वंशक भूकम्पपछि पटक पटक पराकम्पन हरु आइरहेका छन्।

तर ७.३ रिक्टर स्केलको मंगलबारको भूकम्प त्यसयताको सबैभन्दा ठूलो भएको बताइएको छ।

मंगलबारको पराकम्पनपछि राजधानी काठमाण्डौमा हजारौं मानिसहरु बाहिर सडकमा निस्किएका थिए।

कैयौं मानिसहरुले घर बाहिर खुला ठाउँमै रात बिताएका थिए।

उपचार

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ।

भूकम्प पछि आएको पहिरोले कैयौं सडकहरु अवरुद्ध गरीदिएको जनाइएको छ।

यसबाट राहत वितरण कार्यमा कठिनाइ पुग्ने अधिकारीहरुले जनाएका छन्।

त्रास

पटक पटक आइरहेका पराकम्पनहरुका कारण मानिसहरुमा निकै त्रास फैलिएको छ।

भूकम्पविद्हरुले भत्किएका वा चर्किएका घरहरुमा नबस्न तथा सावधान रहन सुझाव दिएका छन्।

गत बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पबाट कम्तीमा आठ हजार जनाको ज्यान गैसकेको छ भने हजारौं घाइते भएका छन्।