'अमेरिकी हेलिकोप्टरको खोजी जारी'

  • 13 मे 2015
भूकम्प तस्वीर कपीराइट
Image caption मंगलबारको भूकम्पले जनधनको थप क्षति गरेको अधिकारीहरुले जनाएका छन्

मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पपछि उद्धारमा खटिएको एक अमेरिकी सैनिक हेलिकोप्टरको स्थिति बुधबार अबेर सम्म थाहा हुन नसकेको अधिकारीहरुले जनाएका छन्।

दिउसो काठमाण्डौबाट दोलखातर्फ उडेको अमेरिकी सैनिक हेलिकोप्टरमा ६ जना अमेरिकी तथा दुईजना नेपाली सैनिकहरु रहेको बताइएको छ।

सो हेलिकोप्टरको खोजी गर्न अर्को अमेरिकी हेलिकोप्टर त्यसतर्फ गएको थियो।

खोजी कार्य

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एकजना प्रवक्ता कर्णेल स्टीभ वारेनले नेपाली सेनाको टोलीले स्थलगत खोजी गरिरहेको बताए।

"हेलिकोप्टरको स्थिति के छ भन्ने हामीलाई थाहा छैन," वारेनले भने।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमल सिंह बमले दोलखा तथा वरिपरिका क्षेत्रमा उक्त हेलिकोप्टरको खोजी भैरहेको बीबीसीलाई बताए।

बिहीबार पनि खोजी कार्य जारी रहने उनले जानकारी दिए।

दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार दिनभरि नै स्थानीय वासिन्दा समेतको सहयोगबाट हराइरहेको हेलिकोप्टरको खोजी जारी राखिएको बताए।

क्षति

पछिल्लो भूकम्पबाट भएको क्षतिको विवरण संकलन भैरहेको गृहमन्त्रालयका एकजना अधिकारीले बताएका छन्।

भूकम्प पछि आएको पहिरोले कैयौं सडकहरु अवरुद्ध गरीदिएको जनाइएको छ।

यसबाट राहत वितरण कार्यमा कठिनाइ पुगिरहेको अधिकारीहरुले जनाएका छन्।