हिमाली वस्ती सार्ने बिषयमा छलफल

  • 14 मे 2015
Image caption भूकम्पले धेरै मानिस घरवारबिहीन भएका छन्

भूकम्प र त्यसपश्चात् आएका पहिरोका कारण दोलखा र सिन्धुपाल्चोक जिल्लाका खासगरी हिमाली बस्तीहरुलाई स्थायीरुपमा अन्यन्त्र सार्ने बारे उच्च तहमा छलफल शुरु भएको छ l

उक्त दुई जिल्लामा विहिबार प्रधानमन्त्री तथा उप-प्रधान र गृहमन्त्रीले भ्रमण गरेपछि त्यसरी वस्ती सार्ने प्रक्रिया बारे गृहका अधिकारीहरुसंग गृहमन्त्रीले प्रारम्भिक परामर्श गरेका छन्l

ती दुई जिल्लामा पछिल्लोपटक आएको ठूलो भूकम्प पछि ठाउँ-ठाउँमा मानिसहरु अझै फसिरहेको जनाइएको छ l

विकल्प

बिहीबार दोलखा र सिन्धुपाल्चोकको भ्रमण गरेर फर्किएपछि उप-प्रधान तथा गृहमन्त्री बामदेव गौतमले वस्ती सार्ने विषयमा गृह मन्त्रालयका अधिकारीहरुसंग कुराकानी गरेका थिएl

ती क्षेत्रमा ९९ प्रतिशत घरमा क्षति पुगेकोले वस्ती सार्ने विकल्पमा छलफल चलाइएको बताइएको छl

त्यसबारे टिप्पणी गर्दै गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने, “उप-प्रधान तथा गृहमन्त्री बामदेव गौतमको भनाइको हिसाबले ती दुइ जिल्लामा सबै घर ध्वस्त भएका छन्l त्यसैले हिमाली क्षेत्रका मानिसहरुलाई सुरक्षित ठाउँमा ल्याउनु पर्ने देखिएको भन्ने कुराहरु उहाँको छलफलमा मैले सुनेको हुँ।”

प्रक्रिया

त्यसरी वस्ती सार्ने विषयमा थप निर्णय गर्न चाहिं थुप्रै प्रक्रिया बाँकी रहेको उनको भनाइ थियो।

“अब मैले यो कुरा भन्न सक्दिन, यो त योजना आयोगले तय गर्नुपर्छ र सरकारको नीति नै बन्नु पर्छl यस विपदको विषयमा संसदले पनि बोलेको छl संकल्प प्रस्ताव पारित गरेको छ, त्यसकारण यस विषयमा नीतिगत निर्णय नै हुनु पर्छ।”

यसबीच भूकम्प र पहिरोबाट पिडीतहरुका उद्धारका निम्ति खासगरी साना हेलिकोप्टरहरु परिचालन गरिरहेको उनले बताएका छन्l

जेल

खासगरी तातोपानी क्षेत्रको स्कूल तथा सुक्खा बन्दरगाह क्षेत्रमा क्रमश: दुई/दुई सय मानिसहरु फसीरहेको अनि अन्य कैयौले पहिरोको कारण बाटो अबरुद्ध भएको भन्दै बचाउन आग्रह गरिरहेको बताइएको छ।

दोस्रो भूकम्प पश्चात राहत वितरणको कार्य जटिल बन्दै गर्दा बिहीबार प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पिडीतहरुका निम्ति आएको राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई जेल हाल्ने बताएका छन्l