अमेरिकी हेलिकोप्टर 'दुर्घटनाग्रस्त'

  • 15 मे 2015
अमेरिकी हेलिकोप्टर तस्वीर कपीराइट AP
Image caption अमेरिकी हेलिकोप्टरु मंगलबार अहरान्हदेखि सम्पर्कविहिन भएको थियो

मंगलबार दिउसोदेखि सम्पर्कविहिन अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको कालिञ्चोक नजिकै घोर्थली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी प्राप्त भएपछि त्यसतर्फ उद्धार टोलीहरु खटाइएको नेपाली सेनाले जनाएको छ।

दुई नेपाली र छ अमेरिकी सैनिक सहित आठ व्यक्ती सवार यु यस मरिन कोरको युएच-वानवाई हुवे हेलिकोप्टर मंगलबार मध्यान्ह भूकम्प गए लगत्तै दोलखातर्फ उडेको थियो।

त्यसपछि सम्पर्कविहिन सो हेलिकोप्टर शुक्रबार मात्रै फेला परेको जानकारी प्राप्त भएपछि टोली खटाइएको अधिकारीहरुको भनाइ छ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार सो हेलिकोप्टर दोलखाको उत्तरी भेगमा करिव ११ हजार २ सय फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

ढकालले बीबीसीलाई भने, “त्यसतर्फ उद्धार टोलीहरु गएका छन्, त्यस बाहेक थप जानकारी हामीसँग छैन।”

नेपाली सेनाका अनुसार खोजीका लागि परिचालित पैदली फौजले जानकारी दिएपश्चात नेपाली सेनाका दुई हेलिकोप्टरले अमेरिकी हेलिकोप्टरलाई कालिन्चोक डांडाको उत्तरपूर्वी दिशामा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए।