बस्टन हमलाकारीलाई मृत्युदण्ड

  • 16 मे 2015
हमलाकारी तस्वीर कपीराइट AP
Image caption बस्टन बम हमलामा दुई दाजुभाइ संलग्न रहेकेा अधिकारीहरुले जनाएका छन्

अमेरिकाको म्यासाचुसेटस राज्यमा एक संघीय जुरीले बस्टन म्याराथनमा बम हमला गर्ने एक एक्काइस वर्षीय युवकलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

झण्डै चौध घन्टा लामो छलफलपछि जुरीले जोखर सारनायफलाई आजीवन कारावासको सट्टा विषालु सुई लगाइ मृत्युदण्ड दिने फैसला गरेको थियो।

उनले अपील गर्न पाउनेछन्।

हमला

झण्डै दुई वर्ष अघि जोखर र उनका दाजुले बस्टन म्याराथनमा दौड सकिने अन्तिम रेखा नजीकै बम हमला गर्दा तीनजनाको ज्यान गएको थियो भने अरु कैयौं घाइते भएका थिए।

उनलाई भाग्नकालागि मोटर अपहरण गरेको र एकजना प्रहरी अधिकारीको ज्यान लिएकोमा पनि दोषी पाइएको थियो।

जोखर सारनायफलाई गएको महिना हमालसंग संबन्धित सबै तीसवटा अभियोगहरुमा दोषी ठहराइएको थियो।

म्याराथन टुंगिने रेखामा उनी र उनका दाजुले तीखा फलामे सुइराहरुले भरिएका प्रेसर कुकरहरु राखेका थिए।

हानाहान

उनको छब्बीस वर्षीय दाजु तमरलेन सारनायफ प्रहरीसंगको गोली हानाहानमा मारिएका थिए।

अमेरिकाकी महान्यायाधिवक्ता लोरेटा लिन्चले जोखरलाई दिइएको सजाय उसले गरेको डरलाग्दो अपराध अनुकूल नै भएको बताइन्।

अमेरिकामा जोखर विरुद्धको सुनुवाइलाई निकै चासोका साथ हेरिएको थियो।