भूकम्पपीडितका लागि रु ९ अर्बको अपील

  • 16 मे 2015
तस्वीर कपीराइट Mahesh Acharya BBC

नेपालका भूकम्पपीडितहरुसमक्ष आधारभूत सेवाहरु पुर्याउन रकम अभाव भइरहेका टिप्पणीहरुमाझ विश्वभरका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको छाता निकायले ९ अर्ब ३० करोड रुपैयां बराबरको आपतकालीन सहयोग रकमका लागि ताजा अपील गरेको छ।

हाल काठमाण्डू आएका रेडक्रस तथा रेडक्रिसेट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघका महासचिव यस सीले थप हजारौं प्रभावितहरुलाई आपतकालीन आश्रय, खाद्य र गैरखाद्य राहत सामाग्री वितरण, आधारभूत स्वास्थ्य सेवा पुर्याउन जरुरी रहेको भन्दै उक्त नयां अपील गरेका हुन्।

शंका

नेपालका भूकम्पप्रभावितका लागि आफ्नो प्रारम्भिक अपील अनुसार ३ अर्ब ५० करोड रुपैयां उठाइसकेको रेडक्रसले थप आपतकालीन आवश्कयताहरुका लागि भन्दै नयां अपील जारी गरेको हो।

संयुक्त राष्ट्रसंघले जारी गरेको करोडौं डलर आपतकालीन अपीलको निकै कम हिस्सामात्रै उठेको चिन्ताहरुमाझ रेडक्रसको नयां अपीलबारे पनि आशंकाहरु व्यक्त भएका छन् तर उसले प्रारम्भिक अपीलकै जस्तै सफलता पाउने अपेक्षा गरेको छ।

तस्वीर कपीराइट Reuters

उक्त रकमबाट थप ७ लाख भूकम्पप्रभावितहरुलाई आगामी दुई वर्षसम्मका लागि सहयोग गर्ने लक्ष्य रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसीले लिएको छ।

उक्त निकायका महासचिव यस सीले भने, “हामीले यो नयांअपील किन गरेको हो भने खोजी तथा उद्दारमा केन्द्रित पहिलो चरणको आपतकालीन कामपछि धेरैभन्दा धेरै जिल्लामा स्वास्थ्यसेवा, शुद्द पिउने पानी जस्ता सेवा पुर्याउनु अत्यावश्कयक छ”।

चुनौती

उनले भौगोलिक जटीलताका कारण कतिपय स्थानमा राहत पुर्याउन कठिनाइ भइरहेको भन्दै आसन्न वर्षायामले थप चुनौती थप्नसक्ने चिन्ता व्यक्त गरे।

उनले भने, “पालको अस्थायी व्यवस्थाले वर्षायामलाई धान्नसक्दैन। त्यसैले अर्धस्थायी वा स्थायी संरचनामा छिटो फर्कनुपर्छ अनि मानिसहरुलाई उनीहरुको मर्यादा पुनर्सथापित गर्न सघाउनुपर्छ”।

तस्वीर कपीराइट EPA

सरकारी आंकडा अनुसार वैशाख १२ र २९ गते गएका शक्तिशाली भूकम्पका कारण विभिन्न जिल्लामा ७ लाखभन्दा बढी घरहरु पूर्ण तथा आंशिक रुपमा क्षति पुग्दा अहिले लाखौं मानिसहरुलाई तत्काल अस्थायी आवासको खांचो देखिन्छ।