नेपाललाई थप सहायताकालागि आह्वान

  • 16 मे 2015
राष्ट्रसंघीय अधिकारीहरु
Image caption राष्ट्रसंघले नेपाललाई ४२ करोड डलर बढी सहायता दिन अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ (फाइल फोटो)

संयुक्त राष्ट्र संघको साधारण सभाले एक प्रस्ताव पारित गर्दै भूकम्पबाट प्रभावितहरुलाई उद्धार, राहत तथा पुनर्निर्माणमा सघाउन नेपाललाई थप सहायता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।

नेपाललाई विध्वंशकारी भूकम्पसंग जुध्न सघाउन थप अन्तर्राष्ट्रिय सहायता आवश्यक रहेको राष्ट्रसंघले दोहोराएको छ।

शुक्रबार बसेको राष्ट्रसंघ साधारणसभाको विशेष बैठकले एक प्रस्ताव पारित गरी राष्ट्र संघका महासचिव तथा राष्ट्रसंघीय प्रणालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा प्रभावकारी समन्वयकालागि नेपाल सरकारलाई सघाउने काम जारी राख्‍न आग्रह गरेको छ।

राहत

राष्ट्र संघले नेपालमा उद्धार तथा राहत कार्यमा सघाउन तत्कालकालागि ४२ करोड ३० लाख डलर आवश्यक रहेकेा जनाएको थियो।

तर अहिलेसम्म उक्त रकममध्ये केवल १४ प्रतिशतमात्रै जम्मा भएको महासचिव बान कि मुनले बताए।

महासचिव बानले गएको तीन साता यता नेपालका झण्डै दश लाख मानिसहरुलाई खानेकुरा तथा औषधि उपचार सेवा पुराइएको पनि बताए।

तर उनले अब केही साताभित्रै वर्षात शुरु हुनुअघि झण्डै पाँचलाख मानिसहरुका लागि अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने ठूलो चुनौती रहेको पनि साधारणसभालाई स्मरण गराए।

महासचिव बानले आपत्कालिन राहतमात्र पर्याप्त नहुने भन्दै दीर्घकालिन पुनर्निर्माण र पुनर्स्थापनामा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई अपील पनि गरे।

छलफल

उनले आउँदो केही साताभित्र भूकम्प प्रभावितहरुकालागि सफा पिउने पानी, खाद्यान्न तथा आवास लगायतको व्यवस्था गर्नेबारे नेपाल सरकार, युरोपेली संघ, अन्तर्राष्ट्रिय विकास बैंकहरु तथा राष्ट्र संघबीच छलफल भैरहेको पनि जानकारी दिए।

यसैबीच बैशाख १२ गते तथा त्यसपछि आएका भूकम्पहरुमा समेत गरी ज्यान गुमाउनेहरुको संख्या आठहजार सातसय नाघेको अधिकारीहरुले जनाएका छन्।

बीबीसीसंग कुरा गर्दै गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले विभिन्न पहाडी जिल्लाहरुमा पहिरोका कारण स्थलमार्ग हुँदै राहत सामग्री पठाउन नसकिएको र हेलिकोप्टरमार्फत उद्धार कार्य भैरहेकेा पनि बताए।