सांस्कृतिक सम्पदाको निर्माण तीन चरणमा

  • 18 मे 2015

सरकारले भूकम्पका कारण क्षति पुगेका विश्व सम्पदा सूचीमा रहेका मठ-मन्दिर सहितका पुरातात्विक संरचनाहरुलाई तीन चरणमा पुनर्निर्माण गर्ने कार्ययोजना बनाएको जनाएको छ।

क्षति पुगेका करीब सात सयभन्दा धेरै स्मारक तथा मठ मन्दिरहरुको असारभित्र नाप नक्सा तयार गर्ने र साउनदेखि निर्माणको लागि बोलपत्र आव्हान गरिने बताइएको छ।

अध्ययन

भूकम्पका कारण क्षति पुगेका संरचनाहरुको नाप जाँचकालागि सोमबारदेखि इन्जिनियरहरुले स्थलगत अध्ययन शुरु गर्ने पुरातत्व विभागले जनायो।

विश्व सम्पदा सूचीमा रहेका वसन्तपुर दरबार स्क्वायर लगायतका मठ मन्दिर सहित स्मारकहरुमा क्षति पुगेको र झण्डै एक सय ४० वटा पूर्ण रुपमा ध्वस्त भएको विभागको भनाइ छ।

१७ वटा जिल्लाको क्षतिको विवरण अनुसार काठमाण्डू जिल्लामा सबैभन्दा बढी झण्डै दुई सयवटा मठ-मन्दिरहरुमा क्षति पुगेको छ।

भत्किएका सम्पदाको जिर्णोद्धार तथा पुनर्निर्माण योजनाबारे विभागका महानिर्देशक भेषनारायण दाहालले भने, “पुनर्निर्माणका निम्ति अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छ।”

उनका अनुसार शुरुमा अभिलेख तयार गर्ने, नक्सा र नमुना बनाउने र लागत अनुमान गर्नुका साथै वर्षामा अरु क्षति नहोस भनेर त्रिपाल र जस्तापाताले छोप्ने व्यवस्था मिलाइने छ।

बोलपत्र आव्हान गरेपछि विज्ञको सल्लाह अनुसार दीर्घकालीन योजना बनाउने विभागको लक्ष्य छ, जसमा कुन कुन काम गर्ने भन्ने कुरा समेटिने छ।

स्वदेशी प्रयोग

साउनदेखि पुनर्निर्माणको चरण शुरु गर्न सकिने विभागको विश्वास छ।

महानिर्देशक दाहालका अनुसार भग्नावशेषबाट निकालिएका ईटा, ढुंगा, मूर्ति, टुँडाल लगायतका वस्तुहरु नै प्रयोग गरेर पुरानै ढाँचा, आकार र प्रकारका स्मारकहरु बनाइने र त्यसको लागि स्वदेशी कालीगढ र कलाकारकै प्रयोग गरिने छ।

उनले भने, “असारसम्ममा हामी ध्वस्त संरचनाहरुको लम्बाइ, चौडाइ सबै अध्ययन गरेर नमुना तयार गर्छौं। लगानी हामीलाई नेपाल सरकारले दिन्छ।”

क्षति पुगेका सम्पूर्ण सम्पदाहरुको पुन: निर्माणको लागि झण्डै १० अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ। त्यसको लागि स्वदेशी तथा विदेशी संघसंस्थाहरुले समेत चासो देखाएको अधिकारीहरुले बताएका छन्।