‘भूकम्पबाट विकास लक्ष्य पनि प्रभावित’

  • 19 मे 2015
तस्वीर कपीराइट Reuters
Image caption यूनिसेफले भूकम्पका कारण तीस लाख बालबालिका जोखिममा परेको जनाएको छ

भूकम्पका कारण नेपालको विकास लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने चिन्ता सरकारी अधिकारीहरुले व्यक्त गरेका छन्।

खासगरी नेपाललाई अतिकम विकसित राष्ट्र (एलडिसी) हरुको तहबाट माथि उकास्ने योजनालाई प्राकृतिक विपद्ले खलबल्याई दिएको उनीहरुको भनाइ छ।

स्वास्थ्य र शिक्षामा केही प्रगति हासिल गर्दै गरेको नेपालले सन् २०२२ सम्ममा अतिकमविकसित राष्ट्रको सूचीबाट माथि उक्लने लक्ष्य लिएको थियो।

योजनामा धक्का

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाललाई विकासोन्मुख देशको श्रेणीमा उकाल्ने घोषणा सार्थक तुल्याउन अपनाइएका विकास प्रकृयालाई पनि त्यसले असर गरेको छ।

उनले भने, “भूकम्पले घर र बाटोमात्रै भत्काएन, हाम्रो योजनापनि भत्काएको छ।”

भूकम्पबाट झण्डै दश हजार स्कूल भवनहरु तथा तीन हजार भन्दा धेरै स्वास्थ्य संरचनामा क्षति पुगेको बताइएको छ।

संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफले भूकम्पका कारण तीस लाख बालबालिका जोखिममा परेको जनाएको छ।

चुनौति

यसरी विपद्ले मानवीय संकट निम्त्याउन थालेका बेला अधिकारीहरुले नेपालको विकास लक्ष्यमा परेको असरलाई कम पार्न नयाँ ढंगबाट अघि बढ्नु पर्ने आवश्यकता महशुस गरेका छन्।

मन्त्री पाण्डेले भने, “अब ठ्याक्कै सन् २०२२ भित्रै लक्ष्यमा पुग्न सक्छौं कि सक्दैनौं भन्ने कुरा एकातिर छ। अर्कोतिर त्यसलाई हामीले छाड्न मिल्दैन बरु अर्को ढंगले अगाडि लानुपर्छ। योजनालाई पुनर्संगठित गर्नुपर्छ।”

यसै पनि सन् २०२२ को लक्ष्य हासिल गर्न नेपाललाई खर्बौं रुपियाँको लगानी आवश्यक थियो।

त्यसमाथि प्राकृतिक विपद्ले मानवीय संकट उब्जाइदिएपछि उत्पन्न परिस्थितिमा पुनर्निर्माण र मानव विकासलाई संगसंगै लैजाने चुनौती थपिएको छ।